राष्ट्रिय सभा सदस्यको निर्वाचन आज देशभर सञ्चालन हुँदै
News Desk
Jan-25 तारिख 07:13 बिहान

राष्ट्रिय सभा सदस्यको निर्वाचन आज देशभर सञ्चालन हुँदैछ। निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार मतदान आइतबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ।

राष्ट्रिय सभाका १९ जना सदस्यको कार्यकाल आगामी फागुन २० गते समाप्त हुँदैछ। तीमध्ये कोशी प्रदेशबाट नेपाली कांग्रेसका उम्मेदवार सुनीलबहादुर थापा निर्विरोध राष्ट्रिय सभा सदस्य निर्वाचित भइसकेका छन्। नेकपाका उम्मेदवार हेमराज घिमिरे समयमै उम्मेदवारी दर्ता गर्न नआएपछि थापा निर्विरोध चयन भएका हुन्। यसैगरी, एक जना सदस्य राष्ट्रपतिबाट मनोनित हुने व्यवस्था छ भने बाँकी १७ पदका लागि आज निर्वाचन हुन लागेको हो।

निर्वाचन आयोगका अनुसार सातै प्रदेशमा मतदान केन्द्र तोकिएका छन्। यस निर्वाचनमा प्रदेश सभा सदस्य तथा स्थानीय तहका प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्ष मतदाता रहनेछन्। राष्ट्रिय सभा निर्वाचनमा स्थानीय तहका जनप्रतिनिधिलाई १९ मतभार र प्रदेश सभा सदस्यलाई ५३ मतभार निर्धारण गरिएको छ। प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिन राजीनामा दिएका केही प्रदेश सभा सदस्य तथा स्थानीय तहका जनप्रतिनिधिको नाम मतदाता नामावलीबाट हटाइएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए।

आयोगका अनुसार १८ पदका लागि कुल ४४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। कांग्रेस र एमालेबीच भागबन्डा गर्दै क्रमशः ९ र ८ सिटमा उम्मेदवारी दिइएको छ भने बाँकी एक पदमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार महन्थ ठाकुरलाई समर्थन गरिएको छ। कांग्रेसभित्र विशेष महाधिवेशनका कारण देखिएको आन्तरिक विवादले गठबन्धनको समीकरण कस्तो देखिन्छ भन्ने कुरा मत परिणामबाट स्पष्ट हुने बताइएको छ।

प्रदेशगत रूपमा कोशी प्रदेशबाट ३, मधेश प्रदेशबाट ४, बागमती र गण्डकी प्रदेशबाट २–२, लुम्बिनी प्रदेशबाट ३ तथा कर्णाली र सुदूरपश्चिम प्रदेशबाट २–२ जना राष्ट्रिय सभा सदस्य निर्वाचित हुँदैछन्।

भागबन्डाअनुसार कोशी प्रदेशमा कांग्रेसका सुनीलबहादुर थापा तथा एमालेका रोशनी मेचे र सोम पोर्तेल उम्मेदवार छन्। मधेश प्रदेशमा कांग्रेसका धमेन्द्र पासवान र रञ्जित कर्ण तथा एमालेकी रेखा झा उम्मेदवार बनेका छन्। बागमती प्रदेशमा कांग्रेसकी गीता देवकोटा र एमालेका प्रेम दंगाल उम्मेदवार छन् भने गण्डकी प्रदेशमा कांग्रेसका जगत तिमिल्सिना र एमालेकी सम्झना देवकोटा उम्मेदवार रहेका छन्।

लुम्बिनी प्रदेशमा कांग्रेसबाट वासुदेव जंगली र चन्द्रबहादुर केसी तथा एमालेबाट रामकुमारी झाक्री उम्मेदवार छन्। कर्णाली प्रदेशमा कांग्रेसका ललितजंग शाही र एमालेकी मिना रखाल उम्मेदवार छन् भने सुदूरपश्चिम प्रदेशमा कांग्रेसका खम्मबहादुर खाती र एमालेका लीला भण्डारी चुनावी प्रतिस्पर्धामा छन्।

यता नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सबै प्रदेशमा एकल उम्मेदवारी दिएको छ। नेकपाबाट कोशी प्रदेशमा खेमराज सुन्दास र नमिता न्यौपाने, मधेशमा रामनन्दन प्रसाद, लक्ष्मण पौडेल, शम्भु पासवान र समिकुमारी अग्रवाल, बागमतीमा प्रेमप्रसाद सापकोटा र सरोजकुमारी झा, गण्डकीमा कपिल लामा, लुम्बिनीमा दुर्गा भण्डारी, बृहस्पति अधिकारी र सर्जन विक, कर्णालीमा बुद्धिप्रसाद शर्मा र अन्जु महतरा तथा सुदूरपश्चिममा टीकाराम जैशी र रोजी बस्नेत सुनार उम्मेदवार रहेका छन्।

धेरै पढिएको