News Desk
आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दार्चुला जिल्लामा दुई वटा अस्थायी मतदान केन्द्र स्थापना गरिएको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार ब्यास गाउँपालिका–१ अन्तर्गत पर्ने छाङरु र तिङ्कर गाउँका मतदातालाई लक्षित गर्दै सदरमुकाम खलङ्गामा ती मतदान केन्द्र तोकिएका हुन्।
मुख्य निर्वाचन अधिकृत भुवन गिरीका अनुसार भौगोलिक कठिनाइ र प्रतिकूल मौसमी अवस्थाका कारण लिपुलेक क्षेत्रअन्तर्गत पर्ने छाङरु र तिङ्कर गाउँका स्थानीय बासिन्दा हाल खलङ्गामै अस्थायी रूपमा बसोबास गरिरहेका छन्। यही अवस्थालाई ध्यानमा राख्दै ती क्षेत्रका मतदाताले सहज रूपमा मतदान गर्न सकून् भनेर सदरमुकाममै अस्थायी मतदान केन्द्र व्यवस्था गरिएको हो। छाङरुका मतदाताका लागि कैलाशपति आधारभूत विद्यालयमा र तिङ्करका मतदाताका लागि मोति महिला सङ्घ आधारभूत विद्यालयमा मतदान केन्द्र कायम गरिएको उहाँले जानकारी दिनुभयो।
निर्वाचन कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार कैलाशपति आधारभूत विद्यालयमा ३७५ जना र मोति महिला सङ्घ आधारभूत विद्यालयमा २४४ जना मतदाता सूचीकृत छन्। विसं २०७९ मा सम्पन्न निर्वाचनमा छाङरुमा ३८३ र तिङ्करमा २३४ मतदाता रहेका थिए। यसअघि भएका स्थानीय तह निर्वाचन पनि ती क्षेत्रमै सञ्चालन गरिएको मुख्य निर्वाचन अधिकृत गिरीले बताउनुभयो।
यसपटक भने गत मङ्सिर महिनामै स्थानीयवासीहरू सदरमुकाम झरेपछि माघ ५ गते मतदान केन्द्र खलङ्गामै राख्न माग गरिएको थियो। उक्त मागलाई सम्बोधन गर्दै अस्थायी मतदान केन्द्र तोकिएको उहाँको भनाइ छ। सदरमुकाममै मतदान केन्द्र कायम गर्दा मतदाताको सहभागिता उल्लेखनीय रूपमा बढ्ने अपेक्षा गरिएको छ।
जिल्लाभर प्रतिनिधिसभा निर्वाचनका लागि कुल ११२ मतदानस्थल र १४३ मतदान केन्द्र तोकिएका छन्। प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार तीमध्ये १५ मतदानस्थललाई अतिसंवेदनशील, ३२ लाई संवेदनशील र ६५ लाई सामान्य श्रेणीमा राखी सुरक्षा योजना तयार गरिएको छ।
मतदाता तथ्याङ्कअनुसार दार्चुला जिल्लामा यसपटक कुल ९२ हजार ९४८ मतदाता रहेका छन्। तीमध्ये ४७ हजार ७५५ पुरुष र ४५ हजार १९३ महिला मतदाता छन्। निर्वाचनलाई व्यवस्थित, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आवश्यक सबै तयारी तीव्र रूपमा अघि बढाइएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो।