News Desk
काठमाडौं | आइतबार सम्पन्न राष्ट्रियसभा निर्वाचनबाट सातै प्रदेश गरी १८ जना सदस्य निर्वाचित भएका छन्। निर्वाचन परिणामअनुसार नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको गठबन्धन सफल देखिएको छ।
गठबन्धनअनुसार नेपाली कांग्रेसका ९, नेकपा एमालेका ८ र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का १ जना उम्मेदवार राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका हुन्।
कोशी प्रदेशमा दलित समूहबाट नेकपा एमालेका सोमनाथ पोर्तेल र महिलातर्फ एमालेकै रोशनी मेचे विजयी भए। यसअघि नै खुला समूहबाट नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भइसकेका थिए।
मधेश प्रदेशमा नेपाली कांग्रेसका धर्मेन्द्र पासवान (दलित) र रञ्जित कर्ण (अल्पसंख्यक) निर्वाचित भए भने नेकपा एमालेकी रेखाकुमारी झा (महिला) र लोसपाका महन्थ ठाकुर (अन्य समूह) विजयी भएका छन्।
वागमती प्रदेशमा पनि कांग्रेस–एमाले गठबन्धनकै उम्मेदवार सफल भएका छन्। यहाँ कांग्रेसकी गीता देवकोटा र एमालेका प्रेमप्रसाद दंगाल राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका हुन्।
गण्डकी प्रदेशबाट नेपाली कांग्रेसका प्राडा. जगत तिमिल्सिना (अन्य समूह) र नेकपा एमालेकी सम्झना देवकोटा (महिला) विजयी भएका छन्।
लुम्बिनी प्रदेशमा कांग्रेसका बासुदेव घिमिरे (अपाङ्गता समूह) र चन्द्रबहादुर केसी (खुला) निर्वाचित भएका छन् भने महिलातर्फ नेकपा एमालेकी रामकुमारी झाँक्री विजयी भएकी छन्।
कर्णाली प्रदेशमा दुई पदका लागि मात्र निर्वाचन भएकोमा कांग्रेसका ललितजंग शाही र एमालेकी मिना सिंह रखाल निर्वाचित भएका छन्।
सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका खम्मबहादुर खाती र नेकपा एमालेकी लीला भण्डारी राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन्।
निर्वाचन आयोगका अनुसार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सम्पन्न मतदानमा ९५.६८ प्रतिशत मत खसेको थियो।
नवनिर्वाचित राष्ट्रियसभा सदस्यहरूको कार्यकाल आगामी फागुन २१ गतेदेखि सुरु भई ६ वर्षसम्म रहनेछ।