News Desk
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले मतदान केन्द्रअनुसार आवश्यक जनशक्ति व्यवस्थापनलाई तीव्र बनाएको छ। आयोगका अनुसार ५०० भन्दा बढी मतदाता रहेका मतदान केन्द्रमा ९ जनाको टोली खटाइने व्यवस्था गरिएको छ।
५०० भन्दा बढी मतदाता भएका केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, तीन सहायक कर्मचारी, एक सहयोगी र तीन जना स्वयंसेवक गरी कुल नौ जना कर्मचारी रहनेछन्। त्यसैगरी ५०० सम्म मतदाता रहेका मतदान केन्द्रमा भने एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, तीन सहायक कर्मचारी, एक सहयोगी कर्मचारी र दुई जना स्वयंसेवकसहित आठ जना कर्मचारी खटाइने आयोगले जनाएको छ।
अस्थायी मतदान केन्द्रका लागि भने फरक व्यवस्था गरिएको छ। यस्ता केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, एक सहयोगी कर्मचारी र दुई जना स्वयंसेवक गरी पाँच जना कर्मचारी रहनेछन्। हाल देशभर २३ हजार ११२ मतदान केन्द्र तोकिएको छ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सबै मतदान केन्द्रमा कर्मचारी खटनपटन गर्न करिब दुई लाख १३ हजार जनशक्ति आवश्यक पर्ने अनुमान गरिएको छ। यसका अतिरिक्त आयोगले ७७ मुख्य निर्वाचन अधिकृतको कार्यालय, ८८ निर्वाचन अधिकृतको कार्यालय, ७७ जिल्ला निर्वाचन कार्यालय र सात प्रदेश निर्वाचन कार्यालयमा पनि कर्मचारी व्यवस्थापन गर्नुपर्नेछ।
आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सकेसम्म जिल्ला न्यायाधीशलाई जिम्मेवारी दिने, निर्वाचन अधिकृतको कार्यालयमा न्याय सेवाका उपसचिवस्तरका कर्मचारी, जिल्ला निर्वाचन कार्यालयमा शाखा अधिकृतस्तरका र सातै प्रदेश निर्वाचन कार्यालयमा उपसचिवस्तरका कर्मचारीको नेतृत्वमा कार्यसम्पादन गराउने योजना बनाएको छ। यी कार्यालयमार्फत अन्तर्गतका मतदान केन्द्रमा आवश्यक कर्मचारी खटाइने गरी आयोगले तयारी अघि बढाइरहेको जनाएको छ।