News Desk
आयोजनाअन्तर्गत झापाको पाडाजुगीदेखि पश्चिमतर्फ पहिलो चरणमा एक लेन कालोपत्र गर्ने काम आइतबारदेखि सुरु भएको छ। पश्चिम खण्ड इटहरी आयोजना कार्यालयका प्रमुख जगत प्रजापतिले सम्झौता भएको दुई वर्षभित्र करिब ३५ प्रतिशत भौतिक प्रगति हासिल भएको जानकारी दिनुभयो।
प्रजापतिका अनुसार एसियन हाइवे नम्बर–२ अन्तर्गत काँकरभिट्टादेखि लौकहीसम्म १२० किलोमिटर सडक स्तरोन्नति गर्ने योजना रहे पनि हाल ९५.७६ किलोमिटर सडक मात्र ठेक्कामार्फत निर्माणाधीन अवस्थामा छ। आयोजनालाई पूर्वी र पश्चिमी खण्डमा विभाजन गरी काम भइरहेको उहाँले बताउनुभयो।
हालसम्म दुवै खण्ड मिलाएर करिब २० किलोमिटर एकतर्फी सडकमा पहिलो चरणको कालोपत्र सम्पन्न भइसकेको छ। पूर्वी खण्ड दमक कार्यालयका प्रमुख सुनीलबाबु पन्तका अनुसार पूर्वी खण्डमा पनि करिब ३५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ।
निर्माण सामग्री सहज रूपमा उपलब्ध भएमा बाँकी कामले अझ तीव्रता पाउने पन्तको भनाइ छ। उहाँका अनुसार पूर्वी खण्डमा विद्युत् पोल स्थानान्तरणको काम करिब ८० प्रतिशत पूरा भइसकेको छ भने पश्चिम खण्डमा करिब ४० प्रतिशत मात्र सम्पन्न भएको छ। बजार क्षेत्रमा पोल सार्ने काम अझै बाँकी रहेको आयोजना कार्यालयले जनाएको छ।
त्यसैगरी, पूर्वी खण्डमा ठूला पुल निर्माणमा २३ प्रतिशत र पश्चिम खण्डमा २५ प्रतिशत प्रगति भएको आयोजनाको तथ्यांकमा उल्लेख छ।
एसियन हाइवे थाइल्याण्डको बैंककबाट सुरु भई म्यान्मा, बंगलादेश र भारत हुँदै नेपालको काँकरभिट्टाबाट प्रवेश गरी पूर्व–पश्चिम राजमार्ग हुँदै भारतको दिल्ली पार गर्दै पाकिस्तानको कराँचीसम्म पुग्नेछ।
तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित एसियाली विकास बैंकको आर्थिक सहयोगमा विसं २०८० माघ १९ गतेदेखि यस सडकको निर्माण कार्य सुरु गरिएको हो। आयोजनामा करिब ३० करोड अमेरिकी डलर खर्च हुने अनुमान गरिएको छ।
सडकलाई बजार, जङ्गल र ग्रामीण गरी तीन खण्डमा वर्गीकरण गरेर निर्माण गरिनेछ। बजार क्षेत्रमा ५० मिटर, जङ्गल क्षेत्रमा २४ मिटर र ग्रामीण क्षेत्रमा ३३ मिटर चौडाइको सडक बनाइने आयोजना कार्यालयले जनाएको छ।