News Desk
काठमाडौं । निर्वाचन अभियान तीव्र बन्दै गएसँगै राजनीतिक दल र उम्मेदवारविरुद्ध निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीहरू बढ्न थालेका छन्।
यसै क्रममा झापा–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाह र सुनसरी–१ बाट श्रम संस्कृति पार्टीका उम्मेदवार हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता भएको छ। दुवै उम्मेदवारले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोप लगाउँदै कारबाहीको मागसहित उजुरी परेको हो।
बालेन्द्र शाहले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै ७६ जना बालबालिकाको हत्यारा भन्ने अभिव्यक्ति दिएको भन्दै मानहानी तथा प्रतिशोधको उद्देश्य देखिएको आरोपसहित उजुरी दर्ता गरिएको छ। उम्मेदवारविरुद्ध गलत तथा भ्रामक अभिव्यक्ति दिनु निर्वाचन आचारसंहिता विपरीत हुने उल्लेख गर्दै छानबिन गरी कारबाही गर्न माग गरिएको छ।
त्यस्तै, सुनसरी–१ का उम्मेदवार हर्क साम्पाङले चुनावी प्रचारप्रसारका क्रममा बालबालिकाको प्रयोग गरेको आरोपमा पनि आयोगमा उजुरी परेको छ।
निर्वाचन आयोगले दुवै उजुरीमाथि छानबिन प्रक्रिया अघि बढाइसकेको जनाएको छ भने सम्बन्धित उम्मेदवारलाई स्पष्टीकरण सोध्ने तयारी भइरहेको जानकारी दिएको छ।