बालुवाले पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
News Desk
Jan-27 तारिख 06:44 बिहान

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ दोन्द्राङ बेँसी नजिक त्रिशूली नदीको किनारमा बालुवाले पुरिएको अवस्थामा भेटिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला परेको छ।

डेढ वर्षअघि चितवनको सिमलतालमा पहिरोसँगै बेपत्ता भएको उक्त बसको उत्खनन गर्ने क्रममा एक जनाको कङ्काल भेटिएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिनुभयो।

प्रहरीका अनुसार बसको करिब ४० प्रतिशत भाग काटेर निकाल्ने क्रममा कम्मरभन्दा माथिको भाग मात्र रहेको मानव कङ्काल फेला परेको हो। उक्त कङ्काल पहिचान तथा परीक्षणका लागि भरतपुर अस्पताल पठाइएको छ।

सिमलताल दुर्घटनास्थलबाट करिब ३०० मिटर तल त्रिशूली नदी किनारमा १६ दिनअघि बसका पाटपुर्जा देखिएपछि खोज तथा उत्खनन कार्य तीव्र बनाइएको थियो।

इलाका प्रहरी कार्यालय आँबुखैरेनी, सशस्त्र प्रहरी बल नेपाल नं १७ गण चितवन र नं २३ मनकामना गण भानु तनहुँबाट खटिएको संयुक्त सुरक्षा टोलीले बसको अवशेष फेला पारेको हो।

विसं २०८१ असार २८ गते बिहान काठमाडौँबाट गौरतर्फ जाँदै गरेको प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस र वीरगन्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालको झोलुङ्गे पुल नजिकै लेदोसहितको पहिरोमा परेर त्रिशूली नदीमा खसेका थिए।

दुवै बसमा सवार ६५ यात्रुमध्ये गणपति डिलक्स बसका तीन यात्रु भने पौडिएर ज्यान जोगाउन सफल भएका थिए भने अन्य सबै यात्रु बससँगै बगेर बेपत्ता भएका थिए।