भारतीय राजदूतावासले म​नायो भारतको ७७औँ गणतन्त्र दिवस
News Desk
Jan-27 तारिख 07:13 बिहान

काठमाडौंस्थित भारतीय राजदूतावासले भारतको ७७औँ गणतन्त्र दिवस भव्य रूपमा मनाएको छ। लैनचौरस्थित दूतावास परिसरमा सोमबार आयोजित समारोहमा कार्यवाहक राजदूत डा. राकेश पाण्डेले भारतीय राष्ट्रिय झण्डा फहराएका थिए।

कार्यक्रमका क्रममा भारतकी राष्ट्रपति द्रौपदी मुर्मुले राष्ट्रका नाममा दिएको सम्बोधनको भिडियो प्रदर्शित गरिएको थियो। साथै, कार्यवाहक राजदूत पाण्डेले भारतीय सशस्त्र बलका दिवंगत सैनिकका पत्नी तथा निकटतम परिवारजनलाई सम्मान गर्दै आर्मी ग्रुप इन्स्योरेन्स फन्डअन्तर्गत ७ करोड २० लाख रुपैयाँभन्दा बढीको बैंक चेक हस्तान्तरण गरेका थिए।

समारोहमा पछिल्लो एक वर्षको अवधिमा भारत–नेपाल द्विपक्षीय सम्बन्धमा भएका महत्वपूर्ण उपलब्धिहरू समेटिएको विशेष भिडियो पनि प्रस्तुत गरिएको थियो। कार्यक्रममा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका विद्यार्थी तथा शिक्षकहरू र नेपाली कलाकारहरूले आकर्षक सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्दै समारोहलाई थप रंगीन बनाएका थिए।