News Desk
नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सर्लाहीमा मतदाता, नेता तथा कार्यकर्तासँग प्रत्यक्ष भेटघाट कार्यक्रमलाई तीव्रता दिनुभएको छ। सोमबार सर्लाही पुग्नुभएका सभापति थापा मंगलबार आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ का मतदाताबीच पुगेर स्थानीयस्तरका विविध विषयमा छलफलमा सहभागी हुनुभएको हो।
भेटघाटका क्रममा उहाँले निर्वाचन क्षेत्रमा सञ्चालित तर अलपत्र परेका विकास निर्माणका योजनाबारे जानकारी लिनुका साथै स्थानीय जनताका समस्या र अपेक्षा सुन्नुभयो। सभापति थापाको मतदाता भेटघाट कार्यक्रम राति अबेरसम्म निरन्तर चलेको थियो।
स्थानीय बासिन्दासँग संवाद गर्दै सभापति थापाले सर्लाहीको आवाज अझ सशक्त रूपमा उठाइने प्रतिबद्धता जनाउनुभयो। उहाँले सर्लाहीमा उठाइएका विषय र मागलाई काठमाडौंमा समेत निरन्तर रूपमा अघि बढाउने स्पष्ट पार्नुभयो।
“आज सर्लाहीमा मैले जे कुरा गरिरहेको छु, काठमाडौं पुगेपछि पनि त्यही कुरा गर्छु। मेरो सोच र धारणा एउटै छ,” सभापति थापाले भन्नुभयो।
उहाँले काठमाडौं र सर्लाहीका नागरिकबीच अधिकारको कुनै भिन्नता नहुने उल्लेख गर्दै सबै नागरिक समान हकदार रहेको विश्वासमा आफू दृढ रहेको बताउनुभयो।