१७ दिनपछि त्रिशूली किनारमा गणपति डिलक्स बसको उत्खनन् कार्य रोकियो
News Desk
Jan-28 तारिख 06:07 बिहान

तनहुँको आँबुखैरेनी गाउँपालिका–५ दोङद्राङबेँसीस्थित त्रिशूली नदी किनारमा भेटिएको गणपति डिलक्स बसको उत्खनन् कार्य १७ दिनपछि बन्द गरिएको छ। गत पुस २७ गते नदी किनारमा गाडीका केही अवशेष फेला परेपछि सुरु गरिएको उत्खनन् कार्य सोमबार औपचारिक रूपमा रोकिएको हो।

उत्खनन् क्रममा २०८१ असार २८ गते चितवनको भरतपुर–२९ सिमलतालमा पहिरोसँगै त्रिशूलीमा खसेका दुई सवारीसाधनमध्ये एक गणपति डिलक्स बस रहेको पुष्टि भएपछि खोज तथा उत्खनन् कार्यलाई तीव्र पारिएको थियो।

सोमबार साँझ उत्खनन् स्थलबाट एउटा मानव अवशेष फेला परेको थियो। उक्त अवशेष थप परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ। गाडीका देखिएका सबै भाग तथा पार्टपुर्जा काटेर निकालिसकिएकोले थप उत्खनन् आवश्यक नदेखिएको तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले जानकारी दिनुभयो।

उत्खनन् कार्यमा तनहुँको मिलन चेनपुली कम्पनी, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको टोली निरन्तर रूपमा खटिएको थियो। स्थानीय एक व्यक्तिले माछा मार्ने क्रममा गाडीको अवशेष देखेपछि पुस २७ गते प्रहरीलाई खबर गरेका थिए, त्यसयता प्रहरीले बेल्चा प्रयोग गरी बालुवा उत्खनन् गर्दै अवशेष निकाल्दै आएको थियो।

उल्लेखनीय छ, २०८१ असार २८ गते काठमाडौंबाट गौरतर्फ जाँदै गरेको प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति यातायातको बस र वीरगन्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस सिमलताल क्षेत्रमा पहिरोमा बग्दै त्रिशूली नदीमा खसेर बेपत्ता भएका थिए।

दुवै बसमा सवार ६५ यात्रुमध्ये गणपति यातायातको बसमा रहेका तीन यात्रु भने पौडिएर ज्यान जोगाउन सफल भएका थिए।

धेरै पढिएको