News Desk
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन तथा अनुगमनलाई प्रभावकारी बनाउन विभिन्न तहमा अनुगमन अधिकृत नियुक्त गरेको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार जिल्लास्तरमा आचारसंहिता पालनाको निगरानी गर्न सहायक प्रमुख जिल्ला अधिकारीलाई अनुगमन अधिकृतका रूपमा तोकिएको हो।
आयोगले सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिक विषयबाहेकका अन्य सबै विषयमा जिम्मेवारी प्रदान गरेको जनाएको छ। आर्थिक कारोबार तथा खर्चसँग सम्बन्धित अनुगमनका लागि भने प्रमुख कोष नियन्त्रक र कोष नियन्त्रकहरूलाई फरक–फरक जिम्मेवारीसहित निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिएको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो।
प्रतिनिधिसभा निर्वाचन आगामी फागुन २१ गतेका लागि तय गरिएको छ। उक्त निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा विश्वासनीय रूपमा सम्पन्न गर्न निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२ कार्यान्वयनमा ल्याएको छ। आचारसंहिता यही माघ ४ गतेदेखि लागू भइसकेको आयोगले जनाएको छ।