प्रधानमन्त्री कार्की र नर्वेली राजदूतबीच शिष्टाचार भेट
News Desk
Jan-29 तारिख 06:29 बिहान

प्रधानमन्त्री सुशीला कार्कीसँग नर्वेका लागि राजदूत ड्याग्नी मियोसले आज शिष्टाचार भेट गर्नुभएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा दुवै पक्षबीच आपसी हित र सहकार्यका विषयमा छलफल भएको थियो।

भेटका क्रममा प्रधानमन्त्री कार्कीले विशेष परिस्थितिमा सरकारको नेतृत्व सम्हाल्नुपरेको उल्लेख गर्दै मुलुक क्रमशः सामान्य अवस्थामा फर्किंदै निर्वाचनतर्फ अग्रसर भइरहेको बताउनुभयो। साथै, नर्वे सरकारसहित अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त विश्वास र सहयोगप्रति उहाँले आभार व्यक्त गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

त्यस अवसरमा राजदूत मियोसले नेपालले पहिलो महिला प्रधानमन्त्रीका रूपमा सुशीला कार्कीलाई पाएकोमा खुसी व्यक्त गर्दै उहाँको नेतृत्वमा आगामी निर्वाचन निष्पक्ष र सफल रूपमा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो।

राजदूत मियोसले नेपालमा शान्ति प्रक्रिया, संविधान निर्माण, जलवायु परिवर्तन र दिगो विकासका क्षेत्रमा नर्वेले गर्दै आएको सहयोग स्मरण गराउँदै आगामी दिनहरूमा पनि सहकार्य निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।