News Desk
काठमाडौँ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा पूर्ण रूपमा बादल लागेको छ भने अन्य भूभागमा आंशिक बदली रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती प्रदेशका केही स्थान र गण्डकी प्रदेशका एक–दुई ठाउँमा हल्का वर्षा भइरहेको छ।
दिउँसो तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लाग्ने सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रको मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। यी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
राति पनि तराईका केही स्थानमा हुस्सु लाग्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशसँगै कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रको मौसम प्रायः सफा रहने पूर्वानुमान गरिएको छ। साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातसहित वर्षा हुन सक्ने सम्भावना रहेको छ।