कमला नदीमा अस्थायी डाइभर्सन बनेपछि हुलाकी राजमार्गमा यातायात सहज
News Desk
Jan-29 तारिख 06:53 बिहान

सिरहा । हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषाको सिमानामा पर्ने कमला नदीमा अस्थायी डाइभर्सन निर्माण भएपछि सवारीसाधनको आवत–जावत सहज बनेको छ।

वर्षौँदेखि भासिएको पुलको विकल्पका रूपमा ह्युमपाइप प्रयोग गरी डाइभर्सन तयार गरिएपछि साना तथा ठूला सबै प्रकारका सवारीसाधन सञ्चालन हुन थालेका छन्। सिरहा नगरपालिका–६ का वडाध्यक्ष इन्द्रजित यादवका अनुसार करिब एक साताअघि देखि नै सार्वजनिक सवारीसाधन चल्न थालेका हुन्। “अहिले सबै प्रकारका सवारीसाधन निर्वाध रूपमा चलिरहेका छन्,” उहाँले भन्नुभयो, “यसले स्थानीय बासिन्दा र छोटो दूरीबाट मधेस प्रदेशको राजधानी जनकपुर जाने यात्रुलाई ठूलो राहत दिएको छ।”

गत मङ्सिर ५ गते तत्कालीन भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले पुलको स्थलगत अनुगमन गर्दै पुनर्निर्माण कार्य तत्काल अघि बढाउन निर्देशन दिनुभएको थियो। काम सन्तोषजनक नभए ठेक्का तोडिने चेतावनी दिँदै उहाँले अस्थायी रूपमा भए पनि आवत–जावतको व्यवस्था मिलाउन निर्देशन दिनुभएको थियो। सोही निर्देशनपछि निर्माण कम्पनीले ह्युमपाइप राखेर डाइभर्सन निर्माण गरेको हो।

यसअघि स्थानीय युवाले बनाएको बाँसको पुल प्रयोग गर्नुपर्ने बाध्यता थियो, जहाँ शुल्क तिरेर जोखिमपूर्ण यात्रा गर्नुपर्थ्यो। बर्खायाममा बाँसको पुल बाढीले बगाउँदा स्थानीय बासिन्दा डुङ्गाबाट ज्यान जोखिममा राखेर नदी तर्न बाध्य हुँदै आएका थिए।

१४ वर्षपछि पुल निर्माण अन्तिम चरणमा

१४ वर्षदेखि अलपत्र अवस्थामा रहेको कमला नदीको पुल निर्माणकार्य अहिले अन्तिम चरणमा पुगेको छ। निर्माण कम्पनीका अनुसार आगामी असार मसान्तसम्म काम सम्पन्न गर्ने लक्ष्यसहित दैनिक ४० देखि ५० जना कामदार फिनिसिङ र मर्मत कार्यमा खटिएका छन्।

पप्पु लुम्बिनी जेभीले ठेक्का पाए पनि पप्पु कन्सट्रक्सन कालोसूचीमा परेपछि हाल लुम्बिनी बिल्डर्सले काम अगाडि बढाइरहेको छ। साइट इन्चार्ज सुदीप थापाका अनुसार बाँकी संरचनात्मक काम तीव्र गतिमा भइरहेको छ र असार मसान्तभित्र पुलबाटै सवारी सञ्चालन गर्ने लक्ष्य रहेको छ।

विसं २०६८ मा तीन वर्षभित्र सम्पन्न गर्ने उद्देश्यसहित सुरु गरिएको यो पुल २०७८ साल असारमा आएको बाढीले दुई पिलर भासिँदा चारवटा स्ल्याब क्षतिग्रस्त भएपछि थप समस्यामा परेको थियो। लामो समयसम्म निर्माणमा ढिलाइ हुँदा सिरहा र धनुषाका बासिन्दा जोखिमपूर्ण अस्थायी बाटो प्रयोग गर्न बाध्य थिए।

स्थानीय युवा सन्तोष यादवका अनुसार तत्कालीन मन्त्री घिसिङको पहलपछि पुल निर्माणले गति लिएको हो। हुलाकी राजमार्गको महत्वपूर्ण कडी मानिने यो पुल सम्पन्न भएपछि सिरहा र धनुषाका हजारौँ नागरिकको वर्षौँदेखिको कष्टकर यात्रा अन्त्य हुने अपेक्षा गरिएको छ।