कांग्रेस उम्मेदवार कबिर शर्माद्वारा विकास, इमान्दारिता र योजनामा आधारित प्रतिबद्धता सार्वजनिक
News Desk
Jan-29 तारिख 09:12 बिहान

काठमाडौँ । नेपाली कांग्रेसका तर्फबाट काठमाडौँ क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कबिर शर्माले आगामी निर्वाचनका लागि आफ्ना प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ। सामाजिक सञ्जालमार्फत मतदातालाई सम्बोधन गर्दै उहाँले आफ्नो राजनीतिक यात्रा पद, प्रतिष्ठा वा व्यक्तिगत स्वार्थका लागि नभई समाज सेवा, राष्ट्रिय हित र दिगो विकासका लागि समर्पित रहेको स्पष्ट पार्नुभएको छ।

मूलपानीमा जन्मिएर हुर्किनुभएका शर्मा आफू यसै क्षेत्रको सुख–दुःखसँग प्रत्यक्ष जोडिएको बताउँदै क्षेत्रका नागरिकले भोग्दै आएका समस्या आफ्नै जीवनको अनुभव भएको उल्लेख गर्नुभयो। भूगर्भशास्त्रीका रूपमा शिक्षा हासिल गर्नुभएका शर्माले त्रिचन्द्र क्याम्पसबाट भूगर्भशास्त्रमा स्नातक तथा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर अध्ययन पूरा गर्नुभएको छ। हाल उहाँ काठमाडौं उपत्यकाको भूमिगत जलसतह र जमिन भासिने जोखिमसम्बन्धी अध्ययन तथा अनुसन्धानमा संलग्न हुनुहुन्छ।

पेसागत रूपमा मेलम्ची खानेपानी आयोजना, चमेलिया र दोरदी जलविद्युत् आयोजना लगायत विभिन्न राष्ट्रिय पूर्वाधार परियोजनामा प्राविधिकका रूपमा काम गरेको अनुभव आफूले राजनीतिमा ल्याउन खोजेको शर्मा बताउनुहुन्छ। उहाँका अनुसार भूगोल, भूगर्भ र प्रविधिको वैज्ञानिक बुझाइ बिना गरिएको विकासले दीर्घकालीन समाधान दिन सक्दैन।

आफ्नो राजनीतिक दृष्टिकोण स्पष्ट पार्दै शर्माले नकारात्मक आलोचना र अव्यवहारिक सपनाभन्दा कार्यान्वयनयोग्य योजना आवश्यक रहेको धारणा राख्नुभएको छ। “सपना देखाउनु सजिलो छ, तर त्यसलाई योजना र परियोजनामा रूपान्तरण गर्न स्रोत, समय र लगानीको यथार्थ बुझ्नुपर्छ,” उहाँले उल्लेख गर्नुभएको छ।

काठमाडौँ क्षेत्र नम्बर २ को भौगोलिक तथा सामाजिक विविधतालाई ध्यानमा राख्दै उहाँले सहरी विकास, वैज्ञानिक भू–उपयोग, स्रोत पहिचान, पूर्वाधार विस्तार, शैक्षिक उन्नति, विपद् व्यवस्थापन, भूमिगत जलस्रोत संरक्षण र संस्कृति संरक्षणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। संघीय संरचनाअनुसार स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वय गर्दै विकास कार्य अघि बढाउने उहाँको योजना रहेको छ।

सम्भावित नीति निर्माताको रूपमा शर्माले प्रतिनिधिसभाको मुख्य भूमिका ऐन, नियम र कानुन निर्माण भएको उल्लेख गर्दै सुशासन, समुन्नत नेपाल र सम्मानित नेपालीको लक्ष्य कार्यान्वयनका लागि कानुनी सुधार आवश्यक रहेको बताउनुभएको छ। साथै, उत्पादनमुखी अर्थतन्त्र, स्रोतको पहिचान र उपयोग, सार्वजनिक खरिद प्रणालीको सुधार तथा भ्रष्टाचार नियन्त्रणका विषयमा पनि उहाँले स्पष्ट धारणा राख्नुभएको छ।

अन्त्यमा शर्माले मतदातालाई भावनात्मक नारा वा पार्टीको नामका आधारमा होइन, उम्मेदवारको योग्यता, पृष्ठभूमि र इमान्दारिताका आधारमा निर्णय गर्न आग्रह गर्नुभएको छ। “म नयाँ वा पुरानो अनुहारका कारण होइन, मेरो क्षमता र प्रतिबद्धताका आधारमा मूल्याङ्कन चाहन्छु,” उहाँले भन्नुभएको छ।