News Desk
काठमाडौं । देश र जनताको स्वतन्त्रता तथा अधिकारका लागि आफ्नो जीवन उत्सर्ग गर्ने सहिदको स्मरणमा आज माघ १६ गते देशभर विभिन्न कार्यक्रमसहित शहीद दिवस मनाइँदैछ। शहीदहरूको योगदानलाई सम्मान गर्दै श्रद्धाञ्जली सभा, प्रभातफेरी, दीप प्रज्वलन तथा विविध कार्यक्रम आयोजना गरिएका छन्।
नेपालमा प्रजातन्त्र स्थापनाका लागि प्राण आहुति दिने धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्रीलगायत अन्य सहिदको सम्झनामा हरेक वर्ष यो दिवस मनाउने परम्परा रहेको छ। राणा शासनविरुद्ध आवाज उठाएको अभियोगमा तत्कालीन शासकले उहाँहरूलाई मृत्युदण्ड दिएको थियो।
ती सहिदहरूको साहस र बलिदानकै कारण जहानियाँ राणा शासनको अन्त्य हुँदै नेपालमा प्रजातन्त्रको जग बस्न पुगेको इतिहास छ। सहिदहरूको त्यागबाट प्राप्त प्रेरणाले लोकतान्त्रिक आन्दोलनलाई दिशा दिएको मानिन्छ।
प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस प्रजातन्त्र स्थापना तथा पुनःस्थापनासहित विभिन्न कालखण्डमा स्वतन्त्रता र अधिकारका लागि जीवन समर्पण गर्ने सहिदप्रति सम्मान प्रकट गर्ने अवसरका रूपमा लिइन्छ। यसै अवसरमा माघ १० देखि १६ गतेसम्म ‘सहिद सप्ताह’ मनाउँदै विविध सचेतनामूलक कार्यक्रम सञ्चालन हुँदै आएका छन्।
इतिहासअनुसार विसं २०१२ सालदेखि तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा औपचारिक रूपमा शहीद दिवस मनाउन थालिएको हो। स्वतन्त्रताको माग गरेकै कारण १९९७ सालमा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते टेकुस्थित पचलीमा, धर्मभक्त माथेमालाई माघ १३ गते सिफलमा तथा गङ्गालाल श्रेष्ठ र दशरथचन्द्रलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए।