चुनावी अभियानसहित बालेन साह सुदूरपश्चिमबाट कर्णाली प्रवेश गर्दै
News Desk
Jan-30 तारिख 08:35 बिहान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा भावी प्रधानमन्त्रीका प्रस्तावित उम्मेदवार बालेन साह चुनावी अभियानका क्रममा सुदूरपश्चिमपछि कर्णाली प्रदेश प्रवेश गर्ने भएका छन्। लुम्बिनी प्रदेशको बाँके जिल्लाका विभिन्न सहर हुँदै बालेन शुक्रबार कर्णालीतर्फ लाग्ने कार्यक्रम रहेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी दैलेखका सचिव प्रकाशकुमार बुढाका अनुसार बालेनसहितको टोली सुदूरपश्चिमका डडेलधुरा, डोटी र अछाम हुँदै कर्णाली प्रदेशको दैलेख जिल्लामा प्रवेश गर्नेछ। यस क्रममा विभिन्न स्थानीय तहमा भेटघाट तथा कार्यक्रमहरू आयोजना गरिने छन्।

कार्यक्रमअनुसार बिहान १० बजे आठबीस नगरपालिकाको केन्द्र राकम कर्णाली, ११ बजे चामुण्डाबिन्द्रासैनी नगरपालिकाको जम्बुकाँध, १२ बजे भैरबी गाउँपालिकाको चगत्रा बजार र साढे १२ बजे दुल्लु नगरपालिकाको पटाङ्गिनी बजारमा बालेन सहभागी हुनेछन्।

त्यसैगरी दिउँसो १ बजे भैरबी गाउँपालिका–१ स्थित जलजलेमा उत्खनन भइरहेको पेट्रोलियम क्षेत्रको अनुगमन, साढे १ बजे दैलेख बजारस्थित रास्वपा कार्यालयको अवलोकन तथा २ बजे पार्टी कार्यालयदेखि बजार हुँदै दुईखम्बसम्मको कार्यक्रममा सहभागिता जनाउने कार्यतालिका छ। यस्तै ३ बजे डुङ्गेश्वर गाउँपालिकाको चुप्रा बजार, साढे ३ बजे माथिल्लो डुङ्गेश्वर बजार र साढे ४ बजे गुराँस गाउँपालिकाको केन्द्र गुराँसेमा आयोजित कार्यक्रममा पनि बालेन सहभागी हुनेछन्।

दैलेखका कार्यक्रम सम्पन्न गरेपछि बालेन कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा माघ १७ गते आयोजना हुने कार्यक्रममा सहभागी हुन दैलेखबाट सुर्खेत प्रस्थान गर्ने रास्वपा दैलेखले जनाएको छ।