News Desk
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवासँग नियमित संवादमा रहेको स्पष्ट पार्नुभएको छ। शुक्रबार जनकपुरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले देउवासहित वरिष्ठ नेताहरूसँग पार्टीका समसामयिक विषयमा निरन्तर छलफल भइरहेको बताउनुभयो।
सभापति थापाले देश निर्वाचनको प्रक्रियामा प्रवेश गरिसकेकाले कांग्रेसका सम्पूर्ण नेता तथा कार्यकर्तालाई एकताबद्ध भएर चुनावी प्रचार–प्रसारमा सक्रिय हुन निर्देशन दिनुभयो। विगतका विषयलाई लिएर पार्टीभित्र मतभेद राख्ने समय अब समाप्त भइसकेको उहाँको भनाइ थियो।
उहाँले निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध असहयोग गर्ने वा गतिविधि गर्ने नेता–कार्यकर्तामाथि कडा कारबाही गरिने चेतावनी पनि दिनुभयो। सभापति थापाले पार्टीलाई सशक्त, अनुशासित र एकीकृत बनाएर अघि बढाउन आफूले कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो।