खगेन्द्र सुनारको अभिव्यक्तिप्रति रास्वपाको गम्भीर ध्यानाकर्षण, क्षमायाचनासहित विज्ञप्ति जारी
News Desk
Jan-31 तारिख 05:55 बिहान

काठमाडौँ । बाँके निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका खगेन्द्र सुनारको अभिव्यक्तिलाई लिएर विवाद चर्किँदै गएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यस विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। राष्ट्रिय जनावर गाईसम्बन्धी सुनारको भनाइ विवादित बनेपछि पार्टीले आधिकारिक विज्ञप्ति सार्वजनिक गरेको हो।

शुक्रबार रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले जारी गर्नुभएको विज्ञप्तिमा, पार्टीमा आबद्ध हुनुअघि सुनारले व्यक्त गरेका अभिव्यक्तिका कारण समाजमा उत्पन्न अन्योल र धार्मिक तथा सांस्कृतिक भावनामा परेको चोटप्रति पूर्ण क्षमायाचना गरिएको उल्लेख छ।

विज्ञप्तिमा सुनारले आफू शाकाहारी रहेको, कुनै पनि पशुपक्षीको हत्या समर्थन नगर्ने तथा राष्ट्रिय जनावर गाईप्रति पूर्ण सम्मान रहेको कुरा सार्वजनिक रूपमा स्पष्ट गरिसकेको जनाइएको छ। साथै, उक्त अभिव्यक्तिबाट उत्पन्न भ्रमप्रति उहाँले क्षमायाचना गर्दै आत्मालोचना समेत गरेको पार्टीले जनाएको छ।

रास्वपाले यस विषयमा उम्मेदवार सुनारलाई सचेत गराउँदै आगामी दिनमा आफ्ना अभिव्यक्ति र व्यवहारमा अझ बढी संयम, परिपक्वता र सार्वजनिक मर्यादा कायम राख्न ध्यानाकर्षण गराएको स्पष्ट पारेको छ। पार्टीका अनुसार सुनारको उद्देश्य कुनै पनि धर्म, संस्कृति वा राष्ट्रिय प्रतीकको अपमान गर्ने नभएकोमा रास्वपा आश्वस्त छ।

विज्ञप्तिमा रास्वपाको विधान र प्रस्तावनाले नेपालको इतिहास, सनातन सभ्यता तथा धार्मिक–सांस्कृतिक विविधतामा आधारित सहअस्तित्व र पारस्परिक सम्मानलाई मूल मर्म मानेको स्मरण गराइएको छ। साथै, सामाजिक सद्भाव खल्बल्याउने वा उत्तेजनात्मक गतिविधिको पक्षमा पार्टी नरहेको कुरा पनि स्पष्ट गरिएको छ।