News Desk
भक्तपुरको मध्यपुर थिमी नगरपालिका अन्तर्गत नगदेशमा शुक्रबार परम्परागत पुलुकिसी जात्रा सम्पन्न भएको छ।
नेवा समुदायको ऐतिहासिक भजन खल नगदेशका अध्यक्ष तुल्सिभक्त घजुका अनुसार यो जात्रा श्रीस्वस्थानी व्रतकथासँग जोडिएको धार्मिक–सांस्कृतिक परम्परा हो। श्रीस्वस्थानी कथामा उल्लेखित पात्र नवराजको राज्याभिषेकपछि हात्ती चढी नगर परिक्रमा गरिएको प्रसङ्गकै स्मरणमा पुलुकिसी जात्रा मनाइँदै आएको उनले बताए।
यस वर्ष नवराजको भूमिकामा स्थानीय जेनिश बाडे सहभागी भई नगर परिक्रमा गरेका थिए। जात्राअन्तर्गत नाच तथा सांस्कृतिक कार्यक्रम शुक्रबार अपराह्न ५ बजे सिद्विगणेशबाट सुरु भई लाछी, न्हुछेजो टोल, बहाननी, झ्वापुननी, छ्वास, ध्वाकसी, त्वागल, कुम्हालाछी र पाचोननी हुँदै विश्वनारायण मन्दिरमा पुगेर पूजा अर्चनासहित समापन गरिएको थियो।
प्रत्येक वर्ष माघ शुक्ल द्वादशीको साँझ आयोजना गरिने यो ऐतिहासिक जात्राको सुरुआत मल्लकालमा भएको मानिन्छ।