News Desk
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन हुन नदिन निगरानी तथा नियन्त्रणका गतिविधि तीव्र बनाएको छ। आगामी फागुन २१ गते तय प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउने उद्देश्यसहित निर्वाचन आचारसंहिता, २०८२ कार्यान्वयनमा ल्याइएको आयोगले जनाएको छ।
आयोगले आचारसंहिताको पूर्ण पालना गराउन राजनीतिक दल, उम्मेदवार, संस्था तथा सरोकारवाला सबै पक्षको ध्यानाकर्षण गराउँदै आएको छ। केन्द्रीय आचारसंहिता अनुगमन समितिमा प्राप्त उजुरी तथा सूचनाका आधारमा हालसम्म राजनीतिक दल, उम्मेदवार र विभिन्न संस्था गरी २१ वटा स्पष्टीकरण सोधिएको छ। तीमध्ये पाँच वटाबाट मात्रै जवाफ प्राप्त भएको र बाँकीका लागि ताकेता जारी रहेको आयोगले जानकारी दिएको छ।
आचारसंहिता विपरीत मिथ्या, भ्रमपूर्ण तथा घृणास्पद अभिव्यक्ति दिने व्यक्तिहरूको निगरानी बढाइएको आयोगले जनाएको छ। साथै गैरकानुनी गतिविधिमा संलग्न व्यक्ति वा संस्थालाई सम्बन्धित नियामक निकायसँग सहकार्य गरी कानुनी दायरामा ल्याउने प्रक्रिया अघि बढाइएको छ।
आयोगअन्तर्गत स्थापना गरिएको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रभित्रको सूचना सदाचार प्रवद्र्धन इकाइ पूर्ण रूपमा सक्रिय रहेको आयोगको भनाइ छ। उक्त इकाइले पहिचान गरेका कूल ३०२ हानिकारक सूचनालाई निर्वाचन आचारसंहिता, २०८२, विद्युतीय कारोबार ऐन, २०६३ तथा प्रेस काउन्सिल ऐन, २०४८ अनुसार कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
निर्वाचनको मर्यादा र स्वच्छतामा आँच पुग्ने कुनै पनि गतिविधि भएमा आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, प्रदेश वा जिल्ला निर्वाचन कार्यालय तथा जिल्ला आचारसंहिता अनुगमन अधिकृतसमक्ष लिखित, मौखिक वा विद्युतीय माध्यमबाट उजुरी दिन सकिने व्यवस्था रहेको आयोगले स्पष्ट पारेको छ।