News Desk
वीरगंज – पर्सा जिल्लाको वीरगंज महानगरपालिका ११ र १३ का जनप्रतिनिधिसहित सयौँको संख्यामा नेता तथा कार्यकर्ताहरूले विभिन्न पार्टी परित्याग गरी नेकपा (एमाले) मा प्रवेश गरेका छन्।
वीरगंज–११ का वडाध्यक्ष अजयकुमार बारै (चौरसिया), वडा सदस्य जगनलाला महतो धानुक, गौदमी देवीलगायतका नेता–कार्यकर्ताहरू एमालेमा प्रवेश गरेका हुन्। त्यसैगरी वीरगञ्ज–१३ का पूर्व वडाध्यक्ष तूफान फारुक अन्सारी तथा निर्वाचित वडा सदस्य लाल मोहम्मद मन्सुरीले पनि जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी एमाले रोजेका छन्।
नवप्रवेशीहरूलाई पूर्व मन्त्री तथा पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट नेकपा (एमाले) का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप यादवले फूलमाला लगाएर स्वागत गरे।
कार्यक्रममा बोल्दै वडाध्यक्ष चौरसियाले जसपा नेपालले मधेस मुद्दालाई प्रयोग गरेर सत्ता केन्द्रित राजनीति मात्र गरेको आरोप लगाए। देशको वर्तमान अवस्थामा जनता र मुलुकको हितका लागि दृढतापूर्वक उभिन सक्ने नेतृत्व केपी शर्मा ओली र पार्टी नेकपा (एमाले) नै भएको दाबी गर्दै आफूहरू एमालेमा प्रवेश गरेको बताए।
यस्तै वीरगञ्ज–१३ का निवर्तमान वडाध्यक्ष अन्सारीले देशी तथा विदेशी शक्तिहरूको इसारामा मुलुकलाई अस्थिर बनाउने षड्यन्त्र भइरहेको आरोप लगाउँदै जनताको हित र राष्ट्रिय स्वाभिमानको रक्षाका लागि एमाले रोजेको स्पष्ट पारे।
पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री यादवले जेन–जी आन्दोलनपछि देशमा सक्रिय भएका विदेशी दबाबहरूको सामना गर्न तथा राष्ट्रिय स्वाधीनताको पक्षमा दृढ भएर उभिन एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व आफूलाई प्रेरणादायी लागेको बताए।
कार्यक्रममा मधेश प्रदेशका पूर्व प्रदेशसभा सदस्य जनत अन्सारी, जिल्ला समन्वय समितिका पूर्व सभापति नेक मोहम्मद अन्सारीलगायतको उपस्थिति रहेको थियो। सहभागीहरूले आगामी निर्वाचनमा एमालेको विजय सुनिश्चित गर्न एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।