टोलवासीसँग परागले गरे भेटघाट तथा अन्तरक्रिया कार्यक्रम
News Desk
Jan-31 तारिख 03:48 बेलुका • आज

वीरगंज  - पर्सा निर्वाचन क्षेत्र नम्बर–१ अन्तर्गत पिपरा गाउँपालिका–१४ मा उज्यालो नेपाल पार्टीका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रामकिशोर सिंह (पराग) ले टोलवासीसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन्।

कार्यक्रमका क्रममा उम्मेदवार सिंहले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको समस्या, अपेक्षा र सुझाव सुने। सो अवसरमा उनले युवाले खोजेको नेतृत्व र चाहेको परिवर्तन युवाबाट नै सम्भव हुने उल्लेख गर्दै राजनीतिको केन्द्र गाउँमै हुनुपर्ने धारणा राखे।

सिंहले युवाहरूलाई रोजगारी र विकासका लागि काठमाडौँ वा सहर केन्द्रित सोच आवश्यक नरहेको बताउँदै गाउँमै बसेर रोजगारी सिर्जना गर्न सकिने सम्भावनामा जोड दिए। साथै, वीरगञ्ज महानगरपालिका वडा नम्बर–२० मा निर्वाचित भएर गरेको काम र त्यहाँबाट बटुलेको अनुभवलाई अब संघीय संसद्सम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे।

स्थानीय तहमा काम गर्दै जनताको समस्या नजिकबाट बुझेको अनुभवले संसद्मा प्रभावकारी रूपमा जनआवाज उठाउन सकिने उनको भनाइ थियो। कार्यक्रममा टोलवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो भने उम्मेदवार सिंहप्रति स्थानीय जनताको चासो र विश्वास बढ्दै गएको देखिएको छ।

उज्यालो नेपाल पार्टीले आगामी दिनहरूमा पनि यस्ता जनसम्पर्क तथा भेटघाट कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।