News Desk
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले सोलुखुम्बु संसारको सर्वोच्च शिखर सगरमाथाको काखमा अवस्थित जिल्ला भएकाले यहाँको निर्वाचन नतिजाले राष्ट्रिय मात्रै नभई अन्तर्राष्ट्रिय महत्वसमेत राख्ने बताउनुभएको छ।
सोलु–काठमाडौं सम्पर्क समन्वय समितिद्वारा शनिबार काठमाडौंमा आयोजित निर्वाचन विशेष कार्यक्रममा बोल्दै संयोजक दाहालले सोलुखुम्बुमा कुन दल र कुन नेताले विजय हासिल गर्छ भन्ने विषयलाई विश्व समुदायले समेत चासोका साथ हेर्ने उल्लेख गर्नुभयो।
उहाँले सोलुखुम्बुका मतदातालाई नेकपाका उम्मेदवार असिम राईलाई तारा चुनाव चिन्हमा अत्यधिक मतका साथ विजयी गराउन आग्रह गर्नुभयो। असिम राई निर्वाचित भए सोलुखुम्बुको समग्र विकासका लागि आवश्यक सबै काममा आफू पूर्ण रूपमा लाग्ने दाबी उहाँले गर्नुभयो।
सोलुखुम्बुको विकासका लागि सडक सञ्जाल विस्तार, पर्यटन प्रवर्द्धन, पर्वतारोहण व्यवस्थापन तथा अन्तर्राष्ट्रियस्तरमा ऊर्जा शक्तिको विकासजस्ता क्षेत्रमा आफ्नो सम्पूर्ण सहयोग रहने प्रतिबद्धता संयोजक दाहालले व्यक्त गर्नुभयो।
उहाँले जेन–जी आन्दोलनपछि मुलुकमा एकताको आवश्यकता महसुस गर्दै वामपन्थी शक्तिहरूबीच एकीकरणको प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो। हाल नेकपामा २३ वटा विभिन्न घटक एकताबद्ध हुने चरणमा पुगेको उहाँको भनाइ थियो।