News Desk
रसुवा | रसुवास्थित पवित्र धार्मिक स्थल गोसाइँकुण्ड क्षेत्रमा चिसो बढेसँगै तालको सतहमा बरफ जमेको छ। अत्यधिक चिसोका कारण पानी जमेर बरफ बनेपछि कुण्ड क्षेत्र जोखिमपूर्ण बन्दै गएको छ।
तालको सतह बरफले ढाकिए पनि तल गहिरो दह रहेको हुँदा त्यसैमाथि हिँडडुल गर्दा बरफ फुटेर दुर्घटना हुन सक्ने सम्भावना रहेको गोसाइँकुण्ड गाउँपालिकाले जनाएको छ। यस कारण यात्रु तथा तीर्थयात्रीलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
गाउँपालिका कार्यालयले बरफमाथि हिँड्दा एक्कासि फुट्न सक्ने उच्च जोखिम रहेकाले कुण्डको सतहमाथि नहिँड्न र सुरक्षित दूरी कायम गर्न सबैलाई अनुरोध गरेको छ।
गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले बरफ जमेको कुण्डमाथि हिँडेर धार्मिक कार्यमा खलल नपुर्याउन र ज्यानको सुरक्षालाई प्राथमिकता दिन सबै तीर्थयात्री तथा पर्यटकलाई सचेत गराउनुभएको छ।
हाल गोसाइँकुण्ड क्षेत्रमा चिसो निरन्तर बढिरहेको र पर्यटकको आवागमन पनि कायम रहेकाले सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्थानीय प्रशासन, सुरक्षा निकाय तथा गाउँपालिकाले निगरानी थप कडा बनाएको जनाएको छ।
तीर्थयात्री र पर्यटकलाई स्थानीय सूचना, निर्देशन तथा सुरक्षा मापदण्डको पालना गर्न अनुरोध गरिएको छ। साथै मौसम प्रतिकूल हुँदा हिउँ परिरहने तथा बाटो चिप्लो हुने भएकाले समूह बनाएर मात्र सुरक्षित तरिकाले यात्रा गर्न सुरक्षा निकायले आग्रह गरेको छ।