News Desk
काठमाडौँ – संयुक्त अरब इमिरेट्स (यूएई) सरकारको ५४औँ राष्ट्रिय दिवस ‘ईद अल एतिहाद’ को अवसरमा २६७ जना नेपाली बन्दीलाई प्रदान गरिएको आममाफीप्रति नेपाल सरकारले गहिरो कृतज्ञता व्यक्त गरेको छ।
नेपाल सरकारद्वारा आज जारी विज्ञप्तिमा यस आममाफीलाई नेपाल–यूएई द्विपक्षीय सम्बन्धमा विद्यमान मैत्री, आपसी सद्भावना र सौहार्दताको महत्वपूर्ण प्रतीकका रूपमा उल्लेख गरिएको छ। साथै, युएई सरकारको यो मित्रवत् तथा मानवीय कदमको उच्च प्रशंसा गरिएको छ।
विज्ञप्तिअनुसार परराष्ट्र मन्त्रालयको निर्देशनमा आबुधाबीस्थित नेपाली दूतावासले पटक–पटक गरेको अनुरोधको सकारात्मक प्रत्युत्तरस्वरूप मित्रराष्ट्र युएई सरकारले उक्त आममाफीको निर्णय गरेको हो।
आममाफी प्राप्त गरेका नेपाली नागरिकहरूमाथि अन्य कुनै कानुनी मुद्दा वा प्रतिबन्ध बाँकी नरहेको अवस्थामा, युएईको प्रचलित कानुनअनुसार आवश्यक प्रक्रिया पूरा गरेपछि उनीहरू स्वदेश फर्कन सक्ने जनाइएको छ।