राष्ट्रपति रामचन्द्र पौडेल जापान प्रस्थान
News Desk
Feb-02 तारिख 06:46 बिहान

काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेल औपचारिक भ्रमणका लागि जापान प्रस्थान गरेका छन्। नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठको अवसरमा जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल जापान गएका हुन्।

राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार राति जापानतर्फ प्रस्थान गरेका हुन्। भ्रमणका क्रममा उनले जापान सरकारद्वारा आयोजना गरिने विशेष कार्यक्रमहरूमा सहभागी हुने कार्यक्रम रहेको छ।

जापान भ्रमणका क्रममा राष्ट्रपति पौडेलले जापानी सम्राट नारुहितोसँग शिष्टाचार भेट गर्ने तथा जापानका प्रधानमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको छ। भेटवार्तामा नेपाल–जापान सम्बन्ध, आपसी सहकार्य र भविष्यका सम्भावित साझेदारीबारे छलफल हुने जनाइएको छ।

यसैगरी, राष्ट्रपति पौडेलले जापानी उच्च अधिकारी, कूटनीतिज्ञ तथा व्यावसायिक समुदायसँग समेत भेटघाट गर्ने कार्यक्रम रहेको छ। उक्त भ्रमणले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

राष्ट्रपति पौडेल निर्धारित कार्यक्रम पूरा गरी माघ २१ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।