पश्चिमदेखि मध्य नेपालसम्म वर्षा र हिमपातको सम्भावना
News Desk
Feb-02 तारिख 07:08 बिहान

पश्चिमी न्यून चापीय प्रणाली केही बलियो बन्दै गएसँगै देशमा पुनः मौसम बदलीको संकेत देखिएको छ। गत मङ्गलबार र बुधबार वर्षा तथा हिमपातपछि खुलेको मौसम एक हप्ता नपुग्दै फेरि सक्रिय प्रणालीका कारण प्रभावित हुन लागेको हो।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आजदेखि नै सुदूरपश्चिम क्षेत्रमा यसको हल्का प्रभाव देखिन थालेको छ। सोमबारसम्म यो प्रणाली पश्चिम नेपालको उच्च हिमाली तथा पहाडी भू–भागमा फैलिने र मङ्गलबार मध्य नेपालसम्म विस्तार हुने अनुमान गरिएको छ। प्रभावित क्षेत्रमा पूर्ण बदली हुने तथा अन्य क्षेत्रमा पनि आंशिक बदलीसँगै चिसो बढ्ने बताइएको छ।

अघिल्लो साता सक्रिय प्रणालीजति शक्तिशाली नभए पनि पश्चिम नेपालमा चिसो बढिसकेको र कतिपय स्थानमा हिमपात भइरहेको अवस्थामा यस प्रणालीले पनि हल्कादेखि मध्यमसम्मको वर्षा तथा हिमपात गराउन सक्ने मौसमविद् अधिकारीले जानकारी दिनुभयो।

उहाँका अनुसार आज कर्णाली र सुदूरपश्चिमका विभिन्न स्थानमा बदली देखिएको छ, जुन क्रमशः बढ्दै जानेछ। मङ्गलबार मध्य नेपालभन्दा पश्चिमका क्षेत्रमा बदली बढेर वर्षा र हिमपातको सम्भावना रहनेछ। यसपालि प्रणालीको असर पश्चिमदेखि मध्य नेपालसम्म सीमित हुने देखिएको छ।

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुने र अन्य भू–भागमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशका माथिल्ला पहाडी क्षेत्रमा केही असर देखिन सक्ने भए पनि तल्लो भू–भाग, तराई तथा मधेस प्रदेशमा प्रभाव न्यून रहने महाशाखाले जनाएको छ। काठमाडौँ उपत्यकामा मङ्गलबार राति छिटपुट वर्षा हुन सक्ने अनुमान गरिएको छ।

सोमबार तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्नेछ भने हिमाली भू–भागमा साधारणतया बदली र अन्य भू–भागमा आंशिक बदली रहनेछ। हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपात वा वर्षाको सम्भावना रहेको छ।

सोमबार राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागमा बदली रहने र केही स्थानमा हल्का हिमपात वा वर्षा हुन सक्नेछ। मङ्गलबार दिउँसो पहाडी तथा हिमाली भू–भागमा बदली बढ्नेछ भने गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मध्यम हिमपात वा वर्षाको सम्भावना रहेको छ।

राति पनि यही प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मध्यम हिमपात वा वर्षा जारी रहन सक्नेछ। अन्य भू–भागमा भने आंशिक बदलीसहित हल्का वर्षा पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।