निर्वाचनपछि संसद बैठक निर्माणाधीन नयाँ भवनमै बस्ने
News Desk
Feb-02 तारिख 07:30 बिहान

आगामी २१ फागुनमा हुने निर्वाचनपछि गठन हुने प्रतिनिधिसभाको पहिलो बैठक सिंहदरबारस्थित पुतली बगैँचामा निर्माणाधीन संसद भवनमै सञ्चालन गरिने भएको छ।

संसद सचिवालयका प्रवक्ता तथा सहसचिव एकराम गिरीका अनुसार निर्वाचनपछिको संसद सञ्चालनका लागि सरकारले निर्माणाधीन संसद भवन उपलब्ध गराउने जानकारी गराइसकेको छ। आइतवार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा प्रवक्ता गिरीले निर्माणाधीन संसद भवन अन्तर्गत रहेका १२ वटा भवनमध्ये तत्कालका लागि ६ वटा भवन संसद प्रयोजनका लागि उपलब्ध गराइने जानकारी आएको बताए।

उनका अनुसार प्रतिनिधिसभा गठन भएपछि राष्ट्रियसभाको बैठकसमेत सोही भवनबाट सञ्चालन गरिनेछ। हाल निर्माणाधीन संसद भवनको करिब ९० प्रतिशत भौतिक पूर्वाधार निर्माण सम्पन्न भइसकेको र बाँकी काम चैतभित्रै सक्ने लक्ष्यका साथ सरकारसँग निरन्तर समन्वय भइरहेको उनले बताए।

प्रवक्ता गिरीले निर्वाचनपछिको संसद सञ्चालनलाई ध्यानमा राख्दै अत्याधुनिक प्रविधिसहित आवश्यक पूर्वतयारी भइरहेको जानकारी दिए। उनले भने, “अब गठन हुने प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक निर्माणाधीन संसद भवनमै बस्ने जानकारी सरकारले दिएको छ। करिब ९० प्रतिशत भौतिक संरचना तयार भइसकेको छ र बाँकी काम एक महिनाभित्र सम्पन्न गरी चैतको पहिलो हप्तासम्म सचिवालयलाई हस्तान्तरण गर्ने विषयमा छलफल भइरहेको छ।”

यसअघि संसद बैठक सञ्चालन हुँदै आएको काठमाडौँको बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीद्वारा आगजनी गरी पूर्ण रूपमा क्षतिग्रस्त बनाइएको थियो। उक्त भवनको पुनर्निर्माण कार्य भने अझै सुरु हुन सकेको छैन।

हाल राष्ट्रियसभाको १९औँ अधिवेशन सिंहदरबारस्थित कृषि समितिको सभाहलबाट सञ्चालन भइरहेको छ।