ई अरविन्द साहले कलैया उपमहानगरपालिका–८ बरेवामा ग​रे घरदैलो कार्यक्रम
News Desk
Feb-02 तारिख 04:11 बेलुका

कलैया, १९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बारा निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार ई. अरविन्द साहले आइतबार कलैया उपमहानगरपालिका–८ बरेवामा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।

घरदैलोको अवसरमा उनले स्थानीय जनतासँग प्रत्यक्ष संवाद गर्दै आफ्नो चुनावी एजेन्डा र प्रतिबद्धताहरू साझा गर्दै कलैयालाई सुन्दर, व्यवस्थित र आधुनिक सहरका रूपमा विकास गर्ने आफ्नो मुख्य उद्देश्य रहेको बताए ।

साहले कलैया जिल्लाको सदरमुकाम भए पनि उपमहानगरमा आवश्यक भौतिक पूर्वाधारको अभाव रहेको र नागरिकले उपयुक्त सेवा सुविधा पाउन नसकेको उल्लेख गरे । उनले भने, “म निर्वाचित भएपश्चात् कलैयालाई स्मार्ट सिटीको रूपमा विकास गर्न पहल गर्नेछु । सडक, पानी, ढल, स्वास्थ्य, शिक्षा र अन्य आधारभूत सेवा सुधारका लागि सरकारमाथि निरन्तर दबाब र पहल गर्नेछु ।”

स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानी बढाउने प्रतिबद्धता पनि उम्मेदवार साहले व्यक्त गरेका छन् । उनले स्थानीय अस्पतालको स्तरोन्नति, आधुनिक शिक्षा संरचना, स्वास्थ्य सेवा सुविधा विस्तार तथा युवाहरूका लागि रोजगार सिर्जना योजनामा काम गर्ने आफ्नो दृष्टिकोण प्रस्तुत गरे ।

घरदैलो कार्यक्रमका क्रममा स्थानीय बासिन्दाले दैनिक जीवनसँग सम्बन्धित समस्या र विकासका चुनौतीहरू औँल्याए । सडक, सार्वजनिक पार्क, शिक्षा, स्वास्थ्य, विद्युत् र पानी व्यवस्थापन लगायतका विषयमा उनीहरूले सुझाव दिएका थिए । साहले सुझावलाई प्राथमिकताका आधारमा अघि बढाउने र जनताको आवाजको सम्मान गर्ने आश्वासन दिएका छन् ।