News Desk
काठमाडौं, माघ १९ । सामुदायिक स्वास्थ्य सेवा परिषद (CCHS) र ताइवान ओरल केयर एशोसिएसन (TOCA) को संयुक्त सहकार्यमा डल्लुस्थित परिषदको ‘A Block’ भवनमा विस्तारित तथा स्तरोन्नत गरिएको अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक दन्त परीक्षण कक्षको आज एक भव्य समारोहबीच उद्घाटन गरिएको छ।
परिषदका अध्यक्ष हरिगोपाल श्रेष्ठ र ताइवान ओरल केयर एशोसिएसनका अध्यक्ष डा. चिउ याओ चाङ (Dr. Chiu Yao Chang) ले संयुक्त रूपमा रिबन काटेर सेवाको औपचारिक शुभारम्भ गर्नुभयो।
कार्यक्रमका प्रमुख अतिथि काठमाडौं महानगरपालिका वडा नं. १५ का अध्यक्ष ईश्वरमान डंगोलले स्वास्थ्य सेवालाई प्रविधिमैत्री र सर्वसुलभ बनाउनु आजको आवश्यकता भएको उल्लेख गर्दै ताइवानी प्रविधि भित्र्याएर स्थानीय नागरिकलाई गुणस्तरीय सेवा दिन परिषदले गरेको प्रयास सराहनीय रहेको बताउनुभयो। उहाँले वडा कार्यालय र महानगरपालिका सधैं यस्ता पहलमा सहयोगी रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
परिषदका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रा. डा. बुलन्द थापाले दन्त कक्षको प्राविधिक पक्षबारे जानकारी दिँदै भन्नुभयो, “यो दन्त कक्ष केवल उपकरणहरूको संयोजन मात्र होइन, अन्तर्राष्ट्रिय मापदण्डअनुसारको उपचार प्रणाली हो। ताइवानको प्रविधि र नेपाली चिकित्सकहरूको दक्षताले अब दन्त उपचारका लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्नेछ। संक्रमण नियन्त्रण (Sterilization) र आधुनिक निदान प्रणालीमा विशेष जोड दिइएको छ।”

कार्यक्रममा रोटरी क्लब अफ त्रिपुरेश्वरका पूर्व अध्यक्ष राजेन्द्र शाक्यले ‘Service Above Self’ को भावना अनुरूप सामुदायिक स्वास्थ्य सेवा परिषदसँगको सहकार्यबाट अत्याधुनिक दन्त सेवा कक्ष साकार हुन पाउँदा खुसी व्यक्त गर्नुभयो। उहाँले अन्तर्राष्ट्रिय साझेदारीले स्थानीय समुदायको स्वास्थ्यस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
जोय फाउन्डेसनका अध्यक्ष बाबुकाजी श्रेष्ठले स्वास्थ्य क्षेत्रमा सरकारी प्रयाससँगै सामुदायिक संस्था र अन्तर्राष्ट्रिय साझेदारहरूको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताउँदै ४७ जना ताइवानी स्वयंसेवकहरूको उपस्थिति आफैंमा मानवीय सद्भावको सशक्त सन्देश भएको उल्लेख गर्नुभयो।
ताइवान ओरल केयर एशोसिएसनका अध्यक्ष डा. चिउ याओ चाङले नेपाल–ताइवान सहकार्यलाई केवल प्रविधि हस्तान्तरण मात्र नभई मानवीय सम्बन्धको उदाहरणका रूपमा व्याख्या गर्नुभयो। उहाँले ताइवानबाट आएका ४७ जना विशेषज्ञ स्वयंसेवकहरूले नेपाली चिकित्सकहरूसँग ज्ञान आदान–प्रदान गर्दै उत्कृष्ट सेवा दिने उद्देश्य रहेको र आगामी दिनमा पनि यस्ता सहयोग तथा तालिम कार्यक्रमलाई निरन्तरता दिइने स्पष्ट पार्नुभयो।
रोटरी क्लब अफ च्याई अली–शान, ताइवानका आगामी डिस्ट्रिक्ट गभर्नर (२०२६–२०२७) लिन चेङ–चाओले रोटरीको उद्देश्य विश्वभरका मानिसहरूको जीवनस्तर सुधार गर्नु भएको उल्लेख गर्दै यो दन्त सेवा कक्षले विपन्न नागरिकलाई समेत विश्वस्तरीय उपचारको पहुँच दिलाउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा परिषदका उपाध्यक्ष केशर बहादुर मानन्धरले स्वागत मन्तव्य राख्नुभएको थियो। समारोहको सुरुवातमा अतिथिहरूलाई परम्परागत ‘खादा’ ओढाएर स्वागत गरिएको थियो।
उक्त कार्यक्रममा युनाइटेड नेचर इन्टरनेशनल पिस नेपाल च्याप्टरका अध्यक्ष डा. राजु लामा, रोटरी क्लब अफ कपनका पूर्व अध्यक्ष नियुक्ति शेर्पा, नेपाल सरकारका पूर्व सह–सचिव शंकर अर्याल, CCHS का मेडिकल डाइरेक्टर डा. प्रेमल कुमार जोशी, तिलगंगा आँखा प्रतिष्ठानका प्रतिनिधि मोहनकृष्ण श्रेष्ठ, लाओसका मानार्थ वाणिज्य दूत राजु श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको अध्यक्षता गर्दै परिषदका अध्यक्ष हरिगोपाल श्रेष्ठले समापन मन्तव्य राख्दै परिषदको विकास यात्रा र भावी योजनाबारे जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “आजको दिन परिषदको इतिहासमा सुनौलो दिन हो। सानो स्तरबाट सुरु गरिएको सेवालाई ताइवान ओरल केयर एशोसिएसनसँगको सहकार्यमा अन्तर्राष्ट्रिय स्तरको दन्त परीक्षण कक्षमा रूपान्तरण गर्न सफल भएका छौं। यसले डल्लु क्षेत्र मात्र नभई सम्पूर्ण काठमाडौंवासीलाई गुणस्तरीय र सुलभ दन्त सेवा उपलब्ध गराउनेछ।”
उहाँले थप भन्नुभयो, “हाम्रो लक्ष्य उपचारमा मात्र सीमित नभई अत्याधुनिक प्रविधिमार्फत रोग नलाग्ने सचेतना जगाउनु पनि हो। ‘A Block’ बाट सुरु भएको यो सेवा विस्तार आगामी दिनमा परिषदका अन्य विभागहरूमा पनि लागू गरिनेछ। ताइवानी स्वयंसेवक र विदेशी साझेदारहरूको सद्भावले हामीलाई थप जिम्मेवार बनाएको छ।”

कार्यक्रमको सञ्चालन तथा उद्घाटन भएका योजनाहरूबारे परिषदका कार्यसमिति सदस्य मोहनकृष्ण श्रेष्ठले सहभागीहरूलाई जानकारी गराउनुभएको थियो।


