News Desk
निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत राजनीतिक दलहरूले पेस गरेको बन्दसूचीबाट ७६ जना उम्मेदवारको नाम हटाएको छ। आयोगले सोमबार जारी गरेको विज्ञप्तिमा उजुरी, प्रचलित कानुनी व्यवस्था, उम्मेदवारको योग्यता तथा अयोग्यता, आयोगका विभिन्न मितिका निर्णय र दलहरूबाट प्राप्त विवरणको आधारमा नाम हटाइएको स्पष्ट पारेको छ।
आयोगका अनुसार कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेका २१ जना उम्मेदवार बन्दसूचीबाट हटाइएका छन्। यसैगरी प्रदेश सभा सदस्य समानुपातिक प्रणालीतर्फको बन्दसूचीमा नाम कायम रहेका २५ जना, निर्वाचन आयोगले तोकेको जरिवाना भुक्तान नगरेका १० जना र न्यूनतम २५ वर्ष उमेर पूरा नगरेका ४ जना उम्मेदवार पनि सूचीबाट हटाइएका छन्।
त्यस्तै मतदाता नामावलीमा नाम समावेश नभएका १ जना, तोकिएको पिछडिएको क्षेत्रको मतदाता नामावलीमा नपरेका २ जना, महिला उम्मेदवार पेस गर्नुपर्ने स्थानमा पुरुष उम्मेदवार पेस गरिएको १ जना तथा सम्बन्धित राजनीतिक दलको आग्रहअनुसार नाम हटाइएका १० जना रहेका छन्। साथै, माथि उल्लेखित कारणमध्ये एकभन्दा बढी कारण लागु भएका २ जना उम्मेदवारको नाम पनि बन्दसूचीबाट हटाइएको आयोगले जनाएको छ।