नेपालमा जलवायु अनुकूलनसम्बन्धी डिजिटल नक्सा सार्वजनिक, कृषिमा नयाँ सम्भावनाको ढोका खुल्यो
News Desk
Feb-03 तारिख 06:44 बिहान

नेपालका लागि विकास गरिएको जलवायु अनुकूलनसम्बन्धी डिजिटल नक्सा सार्वजनिक गरिएको छ। राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा. कालिकाप्रसाद उपाध्यायका अनुसार यो नक्सा ‘डिजिटल नेपाल’ को राष्ट्रिय लक्ष्य हासिलतर्फको महत्वपूर्ण उपलब्धि हो। माटोको डिजिटल नक्सापछि नेपाल कृषि अनुसन्धान परिषद (नार्क) ले कृषि प्रविधिको क्षेत्रमा गरेको अर्को उल्लेखनीय सफलता मानिएको छ।

यस डिजिटल नक्साले किसानलाई बालीनाली तथा पशुपन्छीमा पर्ने जलवायुजन्य जोखिमको विश्लेषण गर्न, त्यसको सम्भावित असरको मूल्यांकन गर्न र जोखिम न्यूनीकरणका लागि स्थान र समयअनुसार उपयुक्त प्रविधि छनोट गर्न सहयोग पुर्‍याउने बताइएको छ। इच्छुकले नक्सासम्बन्धी विवरण www.ann.narc.gov.np मार्फत प्राप्त गर्न सक्नेछन्।

नक्सा सार्वजनिक गर्ने कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदनप्रसाद परियारले यसलाई नेपालको कृषि क्षेत्रका लागि निर्णायक मोडको संज्ञा दिए। जलवायु परिवर्तनका कारण उच्च जोखिममा परेको परम्परागत कृषि प्रणालीको संरक्षणका लागि यो नक्सा अत्यन्त उपयोगी हुने उनको भनाइ थियो। केही संस्थाले यसको प्रयोग सुरु गरिसकेकोप्रति खुशी व्यक्त गर्दै उनले किसानस्तरसम्म यसको पहुँच विस्तार गर्न सम्बन्धित निकायलाई सक्रिय हुन आग्रह गरे।

बोर्लाग इन्स्टिट्युट फर साउथ एसियाका क्षेत्रीय कार्यक्रम प्रमुख डा. प्रमोद अग्रवालले जलवायु परिवर्तन विश्वव्यापी चुनौती बन्दै गएको वर्तमान अवस्थामा नेपाल, भारत, बंगलादेश र श्रीलंकाका वैज्ञानिकहरूको संयुक्त प्रयासमा तयार भएको यो नक्सा समयसापेक्ष र प्रभावकारी रहेको बताए।

नार्कका कार्यकारी निर्देशक डा. कृष्णप्रसाद तिम्सिनाले नक्साले बालीनाली र पशुपन्छीमा जलवायुका कारण पर्ने नकारात्मक प्रभाव कम गर्न आवश्यक नीति निर्माणमा सहयोग पुर्‍याउने स्पष्ट पारे। जलवायुमैत्री प्रविधि प्रवर्द्धनका लागि यो नक्सा महत्वपूर्ण कोशेढुंगा सावित हुने उनको धारणा थियो।

राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्रमुख डा. तुलसी पौडेलले नक्सा जलवायु अनुकूलन योजना निर्माण, जोखिम विश्लेषणका आधारमा वित्तीय संस्थाबाट ऋण प्रवाह, शैक्षिक अध्ययन तथा जनचेतनामूलक कार्यक्रम सञ्चालनमा समेत उपयोगी हुने बताए।

नक्साको सञ्चालन र प्रयोगबारे वैज्ञानिक डा. रोशनबाबु ओझा र डा. विवेक सापकोटाले विशेष प्रस्तुति दिएका थिए। कार्यक्रममा संघीय, प्रादेशिक र स्थानीय तहका कृषि तथा पशुपन्छी कार्यालयका प्रमुखहरूको उल्लेख्य सहभागिता रहेको थियो।