निर्वाचन आचारसंहिता उल्लङ्घनको आरोपमा बालेन्द्र साहलाई आयोगको दोस्रो स्पष्टीकरण
News Desk
Feb-03 तारिख 06:48 बिहान

निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाका पूर्वमेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन्द्र साहसँग दोस्रो पटक स्पष्टीकरण माग गरेको छ। निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आशंकामा थप नौ जनालाई स्पष्टीकरण सोध्ने क्रममा साह पनि समेटिएका हुन्।

आयोगका अनुसार शनिबारसम्म २१ जनासँग स्पष्टीकरण सोधिसकिएको थियो भने आइतबार र सोमबार बालेन्द्रसहित थप नौ जनालाई स्पष्टीकरण पठाइएको हो। आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले झापा क्षेत्र नं. ५ मा निर्वाचन प्रचारका क्रममा साहकी पत्नी सविना काफ्लेले सादा पोशाकका प्रहरी प्रयोग गरेको भन्ने सूचना प्राप्त भएपछि स्पष्टीकरण माग गरिएको जानकारी दिए।

प्रवक्ता जिसीका अनुसार निर्वाचन आचारसंहिता, २०८२ को दफा २१ को खण्ड (च) तथा दफा २५ को उपदफा (१) का खण्ड (च) र (ज) बमोजिम साहसँग तीन दिनभित्र लिखित जवाफ पेस गर्न भनिएको छ। आयोगले आइतबार साहलाई दोस्रो पटक औपचारिक रूपमा स्पष्टीकरण सोधेको हो।

झापा–५ मा रास्वपाका उम्मेदवार साहको पक्षमा प्रचार गर्न सविना काफ्ले खटिएकी थिइन्। सो क्रममा सादा पोशाकका प्रहरी प्रयोग गरी भोट मागिएको श्रव्यदृश्य सामग्री प्राप्त भएपछि आयोगले पुनः स्पष्टीकरण माग गरेको जनाएको छ। ती भिडियोमा सविनासँगै सादा पोशाकका प्रहरी हिँड्दै रास्वपालाई भोट दिन आग्रह गरेको दृश्य देखिएको आयोगको भनाइ छ।

‘उक्त घटनाबारे वास्तविकता के हो ?’ भन्ने प्रश्नसहित आयोगले साहसँग जवाफ माग गरेको छ। यसअघि १३ माघमा पनि आयोगले साहसहित सामाजिक सञ्जालमा चर्चित चार जनालाई एकैपटक स्पष्टीकरण सोधेको थियो।

त्यस क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र साह, नेकपा एमालेका सचिव महेश बस्नेत, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र उम्मेदवार निकोलस भुसालसँग निर्वाचन आचारसंहिता उल्लङ्घनको विषयमा आयोगले स्पष्टिकरण माग गरेको थियो।