News Desk
प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको समयभित्र स्वच्छ, निष्पक्ष र विश्वसनीय वातावरणमा निर्वाचन सम्पन्न गरी जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ।
सोमबार राष्ट्रिय सभाको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले निर्वाचन सफल बनाउन राज्यका स्रोत–साधन केन्द्रित गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार लुटिएका अधिकांश हतियार बरामद भइसकेका छन्, सुरक्षाको पूर्ण प्रत्याभूति गरिएको छ र एकीकृत निर्वाचन सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको छ।
प्रधानमन्त्री कार्कीले निर्वाचन प्रक्रियामा राजनीतिक दल तथा उम्मेदवारहरूको सक्रिय सहभागिता र नागरिकस्तरमा देखिएको उत्साहले लोकतन्त्रप्रतिको विश्वास र आस्था अझ सुदृढ भएको संकेत गरेको बताउनुभयो। साथै, निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै भयमुक्त वातावरणमा मतदान सम्पन्न गर्न सबै पक्षलाई उहाँले आग्रह गर्नुभयो।
सरकार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को छायाँमा चलेको भन्ने आरोपको पनि प्रधानमन्त्री कार्कीले खण्डन गर्नुभयो। राजीनामा दिएका मन्त्रीहरूमध्ये दुई जना रास्वपामा गएको, एक जनाले आफ्नै नेतृत्वमा पार्टी गठन गरेको र अर्को एक जनाले स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचन लडेकाले सरकारलाई कुनै एक दलसँग जोडेर आरोप लगाउनु अनुचित हुने उहाँको भनाइ थियो। जेन–जीको दबाबमा उनीहरू सरकारमा आएको भन्ने दाबीलाई पनि उहाँले अस्वीकार गर्नुभयो।
यसै क्रममा प्रधानमन्त्री कार्कीले भ्रष्टाचार न्यूनीकरणका लागि तयार पारिएको रणनीतिक योजना र प्रविधिमा आधारित सुशासनको मार्गचित्र अन्तिम चरणमा पुगेको जानकारी पनि सदनलाई गराउनुभयो।