शीर्षक: त्रिभुवन विमानस्थल भन्सारका अधिकृतसहित तीन जना अख्तियारको नियन्त्रणमा, ठूलो परिमाणको नगद बरामद
News Desk
Feb-03 तारिख 07:27 बिहान

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयअन्तर्गत वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत भन्सार अधिकृत इन्द्र न्यौपानेसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।

अख्तियारका अनुसार अर्थ मन्त्रालयअन्तर्गत भन्सार विभागको त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा कार्यरत भन्सार अधिकृत न्यौपाने, कार्यालय सहयोगी गणेशप्रसाद पुडासैनी तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत हुलाक सेवा विभागको गोश्वरा हुलाक कार्यालय, पार्सल (निकासी) शाखामा कार्यरत नायब सुब्बा छविप्रसाद रिजाललाई स्रोत नखुलेको रकमसहित पक्राउ गरिएको हो। आयोगका प्रवक्ता सुरेश न्यौपानेले उक्त जानकारी दिएका हुन्।

प्रवक्ता न्यौपानेका अनुसार विदेशमा कुरियरमार्फत विभिन्न सामान पठाउने क्रममा सेवाग्राहीसँग घुस मागिएको भन्ने सूचना तथा उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको छ।

अनुसन्धानका क्रममा कार्यालय सहयोगी पुडासैनीको कार्यकक्षस्थित टेबुलको दराजबाट घुसबापत लिइएको १० हजार रुपैयाँ, सोही दराजबाट स्रोत नखुलेको ४० हजार ३५० रुपैयाँ र उनको साथबाट थप स्रोत नखुलेको ९६ हजार ७० रुपैयाँ बरामद गरिएको छ। त्यसैगरी नायब सुब्बा रिजालको साथबाट घुसबापत लिइएको २० हजार रुपैयाँ, स्रोत नखुलेको १८ हजार ८४८ रुपैयाँ तथा अन्य स्रोत नखुलेको रकमसमेत गरी कुल २ लाख ६८ हजार २८८ रुपैयाँ बरामद गरिएको अख्तियारले जनाएको छ।

यसका साथै विभिन्न व्यक्तिबाट लिइएका २३ थान मोबाइल फोनसमेत नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रवक्ता न्यौपानेले बताएका छन्।