News Desk
वीरगंज - नेपाली कांग्रेसका ठोरी गाउँपालिकाका पालिका सभापति सन्तोष श्रेष्ठले कांग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन्। सोमबार वडा नम्बर ४, विजयबस्तीमा आयोजित रास्वपाको कार्यक्रममा श्रेष्ठसहित कांग्रेसका दर्जनौं कार्यकर्ताहरूले पनि रास्वपामा प्रवेश गरे। रास्वपाका ठोरी सभापति माधव बस्नेतका अनुसार कार्यक्रममा कांग्रेसका ३५० जना कार्यकर्ता रास्वपामा प्रवेश गरेका थिए।
कार्यक्रममा पर्सा क्षेत्र नम्बर ४ का रास्वपा उम्मेदवार टेकबहादुर शाक्य, रास्वपाका केन्द्रीय सदस्य डा. नन्दन यादव लगायतले नयाँ सदस्यहरूलाई अबीर टीका लगाएर पार्टीमा स्वागत गरे। श्रेष्ठले कांग्रेस पुरातनावादी सोच र यथास्थितिप्रतिको अडानका कारण परिवर्तनलाई स्वीकार्न नसकेको उल्लेख गर्दै रास्वपामा प्रवेश गरेको बताए।
श्रेष्ठले ठोरीका मतदातामा राम्रो पकड राखेको बताउँदै आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा पर्सा–४ मा कांग्रेस उम्मेदवार रमेश रिजालको मतमा असर पर्ने संकेत गरे। पर्सा–४ मा रिजाल २०४८ सालदेखि लगातार चुनाव लड्दै आएका छन् र ७ पटकमा ४ पटक निर्वाचित भइसकेका छन्।
कार्यक्रममा रास्वपा पर्सा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति राम आर्य लगायतका नेताहरूको पनि उपस्थिती रहेको थियो। आयोजकहरूले ठोरीबाट आएका नयाँ सदस्यहरूको प्रवेशले रास्वपाको संगठन सुदृढ हुने विश्वास व्यक्त गरेका छन्।