कांग्रेसले १६५ निर्वाचन क्षेत्रमा केन्द्रिय नेता खटायो
News Desk
Feb-04 तारिख 06:08 बिहान

काठमाडौं । नेपाली कांग्रेसले आसन्न निर्वाचनलाई लक्षित गर्दै पार्टीका उम्मेदवारलाई जिताउन देशभर व्यापक संगठनात्मक परिचालन सुरु गरेको छ । १६५ वटै निर्वाचन क्षेत्रमा केन्द्रिय नेताहरूलाई प्रत्यक्ष खटाउँदै कांग्रेसले चुनावी अभियानलाई तीव्र बनाएको हो ।

पार्टी उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा गठन गरिएको केन्द्रिय निर्वाचन परिचालन समितिले सातै प्रदेशका ७७ वटै जिल्लामा पुग्ने गरी केन्द्रिय नेता, पूर्वपदाधिकारी तथा अनुभवी कार्यकर्तालाई जिम्मेवारी तोकेको छ । प्रत्येक निर्वाचन क्षेत्रमा उम्मेदवारको पक्षमा जनसम्पर्क, संगठन सुदृढीकरण र स्थानीय तहसँग समन्वय गर्ने जिम्मा केन्द्रिय नेताहरूलाई दिइएको छ ।

कांग्रेस सभापति गगन थापाको सचिवालयका अनुसार यस अभियानमार्फत पार्टीको नीति, कार्यक्रम र उपलब्धिलाई आम मतदातासम्म पुर्‍याउने, स्थानीय मुद्दालाई केन्द्रीय तहसम्म समेट्ने तथा संगठनभित्र देखिएका कमजोरी सुधार्ने लक्ष्य राखिएको छ । साथै, चुनावी प्रचारका क्रममा अनुशासन कायम राख्दै सकारात्मक र मुद्दामुखी अभियान सञ्चालन गर्न निर्देशन दिइएको छ ।

पार्टी नेतृत्वले यसपटक केन्द्रदेखि स्थानीय तहसम्म एकीकृत र सशक्त परिचालनले निर्वाचनमा उल्लेखनीय परिणाम हासिल हुने विश्वास व्यक्त गरेको छ ।