News Desk
काठमाडौँ । आजदेखि आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै देशभर एकीकृत सुरक्षा व्यवस्था कार्यान्वयनमा ल्याइएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यसहित एकीकृत सुरक्षा योजना २०८२ अनुसार नेपाली सेनाको संयोजनमा चारवटै सुरक्षा निकाय परिचालित भएका हुन् ।
सरकारले यसअघि नै प्रतिनिधि सभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना २०८२ स्वीकृत गरी कार्यान्वयनको तयारी पूरा गरिसकेको थियो । निर्वाचन हुन अब एक महिना मात्र बाँकी रहँदा सुरक्षा व्यवस्थालाई थप चुस्त, दुरुस्त र प्रभावकारी बनाउन आजदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभाग एकीकृत रूपमा परिचालन भएका छन् । आगामी फागुन २१ गते हुने निर्वाचनलाई केन्द्रमा राख्दै सुरक्षा निकायहरू देशव्यापी रूपमा मैदानमा उत्रिएका हुन् ।
एकीकृत सुरक्षा योजनाअनुसार निर्वाचनका लागि भर्ना गरिएका निर्वाचन प्रहरी पनि सुरक्षामा खटाइनेछन् । मतदान स्थलको भित्री घेराको सुरक्षा नेपाल प्रहरी र निर्वाचन प्रहरीले सम्हाल्नेछन् भने दोस्रो सुरक्षा घेराको जिम्मेवारी सशस्त्र प्रहरी बल नेपालले लिनेछ । सशस्त्र प्रहरीले नेपाल प्रहरी र नेपाली सेनासँग समन्वय गरी आफ्नो भूमिका निर्वाह गर्नेछ ।
नेपाली सेना भने बाहिरी सुरक्षा घेरामा रहँदै समग्र सुरक्षाको प्रमुख जिम्मेवारीमा रहनेछ । सेनाले आजदेखि १६५ वटै निर्वाचन क्षेत्रमा आफ्ना जनशक्ति परिचालन गर्ने जनाएको छ । निर्वाचन सुरक्षाका लागि राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको सिफारिस तथा मन्त्रिपरिषद्को निर्णयअनुसार नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदान गरिसक्नुभएको छ । आवश्यकताअनुसार सेनाको अस्थायी ‘वेस’ स्थापना गरिने र संयुक्त गस्तीसमेत सञ्चालन हुने सैनिक प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले जानकारी दिए ।
निर्वाचन सुरक्षाका लागि नेपाली सेनाले करिब ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ । एकीकृत सुरक्षा योजना २०८२ राष्ट्रपतिबाट स्वीकृत भइसकेकाले सोही योजनाअनुसार सेना परिचालन भइरहेको सेनाले जनाएको छ । योजनाअनुसार निर्वाचनको एक महिना अघिदेखि नै सेना फिल्डमा खटिएको हो । निर्वाचनपूर्व मतपत्र छपाइ, ढुवानी, मतदान स्थल तथा मतगणनास्थलको सुरक्षा सेनाको प्रमुख जिम्मेवारी रहनेछ । साथै विमानस्थल, कारागारलगायत महत्त्वपूर्ण संरचनाको सुरक्षामा पनि सेना सक्रिय रहनेछ ।
मतदानका दिन नेपाली सेना तेस्रो सुरक्षा घेरामा रही राजनीतिक दल, उम्मेदवार, मतदाता तथा निर्वाचनमा खटिएका कर्मचारीलाई पूर्ण सुरक्षा प्रत्याभूति दिनेछ । यस निर्वाचनमा तीन हजार ४०६ उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । निर्वाचन आयोगले यही माघ ४ गतेदेखि निर्वाचन आचारसंहिता लागू गरिसकेको छ ।
यसपटक निर्वाचनका लागि कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता कायम छन् । देशभर १० हजार ९६७ मतदान स्थलमा २३ हजार ११२ मतदान केन्द्र तोकिएका छन् । नेपाल प्रहरीले निर्वाचनका लागि ७७ हजार जनशक्ति परिचालन गर्नेछ भने थप एक लाख ३३ हजार निर्वाचन प्रहरी भर्ना गरिएको छ ।
मतदान स्थललाई सामान्य, संवेदनशील र अति संवेदनशील गरी वर्गीकरण गरिएको छ । दुई हजार ८४५ मतदान स्थल सामान्य, चार हजार ४४२ संवेदनशील र तीन हजार ६८० अति संवेदनशील सूचीमा परेका छन् । सशस्त्र प्रहरी बल नेपालतर्फ ३४ हजार ५७६ सुरक्षाकर्मी र १५ हजार ११० निर्वाचन प्रहरी गरी कूल ४९ हजार ६८६ जनशक्ति परिचालित हुनेछन् । कुनै पनि अप्रिय घटना हुन नदिन उच्च सतर्कता अपनाइएको र आवश्यक परे १० मिनेटभित्र घटनास्थलमा पुग्ने व्यवस्था मिलाइएको सशस्त्र प्रहरीले जनाएको छ ।