सानोठिमी बाल सुधारगृह अब बालिकाका लागि मात्र, १८ वर्षमाथिका ७५ जना नुवाकोट स्थानान्तरण
News Desk
Feb-04 तारिख 06:39 बिहान

भक्तपुर । मध्यपुर थिमी नगरपालिका–सानोठिमीस्थित बाल सुधारगृहलाई अब बालिकाहरूका लागि मात्र सञ्चालन गर्ने तयारी गरिएको छ । सुधारगृहको संरचना मर्मत तथा व्यवस्थापन सुधार गर्दै बालिकामैत्री बनाइने योजना अघि बढाइएको सुधारगृह प्रशासनले जनाएको छ ।

सुधारगृहमा रहेका १८ वर्षभन्दा माथिका ७५ जना बालबिज्याइँकर्तालाई हालै नुवाकोटस्थित केन्द्रीय कारागारको खम्पा क्याम्पमा स्थानान्तरण गरिएको छ । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार सुधारगृहमा पुनः उनीहरूलाई राख्न नसक्ने अवस्था बनेपछि स्थानान्तरणको निर्णय गरिएको हो ।

क्षमताभन्दा बढी १६९ जना बालबिज्याइँकर्ता राखिँदै आएको उक्त सुधारगृहमा गत ८ गते राति झडप, आगजनी र तोडफोडको घटना हुँदा अधिकांश संरचनामा क्षति पुगेको थियो । सो घटनापछि सुरक्षाको दृष्टिले पनि गम्भीर चुनौती देखिएपछि प्रशासनले तत्काल व्यवस्थापन परिवर्तन गरेको हो ।

यसअघि सुधारगृहमा २४ जना बालिकासमेत रहेका थिए । कानुनी अस्पष्टताका कारण १८ वर्ष उमेर नाघेपछि समेत बालबिज्याइँकर्तालाई कारागार पठाउन नसक्दा ३५ वर्षसम्मका व्यक्तिहरू एउटै सुधारगृहमा बस्न बाध्य थिए । एउटै स्थानमा बालिका र वयस्क उमेर समूहका बालबिज्याइँकर्ता राखिँदा सुरक्षा जोखिम बढ्दै गएको र पटक–पटक झडपको अवस्था सिर्जना हुँदै आएको प्रशासनले जनाएको छ ।

अब सुधारगृहलाई बालिकामात्र लक्षित गरी सुरक्षित, व्यवस्थित र सुधारमुखी वातावरण निर्माण गर्ने तयारी गरिएको जनाइएको छ ।