ललितपुर महानगरमा लेखा तथा बेरुजु व्यवस्थापनबारे छलफल र तालिम सम्पन्न
News Desk
Feb-04 तारिख 08:26 बिहान

ललितपुर । ललितपुर महानगरपालिकाको लेखा समितिको आयोजनामा लेखा तथा बेरुजु सम्बन्धी छलफल, अन्तर्क्रिया र तालिम कार्यक्रम सम्पन्न भएको छ । माघ २० गते वडा नं १८ अन्तर्गतका उपभोक्ता समिति, टोल विकास संस्था तथा महिला समूहका पदाधिकारीलाई लक्षित गरी सैबुमा आयोजित कार्यक्रममा करिब ६५ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रम लेखा समितिकी संयोजक सरिता महर्जनको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा ललितपुर महानगरपालिका वडा नं १८ का वडा अध्यक्ष दामोदर खड्का प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । सो अवसरमा संयोजक महर्जनले लेखा प्रक्रियाबारे पर्याप्त जानकारी नहुँदा विगतमा विभिन्न व्यवहारिक समस्या देखिएको उल्लेख गर्दै ती समस्या समाधान गर्न उपभोक्ता समिति, टोल विकास संस्था र महिला समूहका पदाधिकारीलाई लक्षित गरी तालिम आयोजना गरिएको जानकारी दिनुभयो ।

प्रमुख अतिथि वडा अध्यक्ष खड्काले तालिममार्फत प्रशिक्षकहरूले प्रदान गर्ने ज्ञानले लेखा तथा बेरुजुसम्बन्धी जटिलता समाधान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सहभागीहरूलाई तालिमलाई अवसरका रूपमा सदुपयोग गर्न आग्रह गर्दै यस्ता कार्यक्रम विगतमा पनि प्रभावकारी हुँदै आएको र आगामी दिनमा निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा महानगरपालिकाका लेखा समिति सदस्य अनुप घिमिरे, वडा सदस्यहरू, वडा सचिव ईश्वरी भण्डारीलगायतको उपस्थिति रहेको थियो । तालिम सत्रमा महानगर आन्तरिक लेखा परीक्षण एकाइ प्रमुख वरिष्ठ अधिकृत प्रेमबहादुर थापा तथा योजना कार्यान्वयन शाखाका अधिकृत केशव अर्यालले प्रशिक्षण प्रदान गर्नुभयो ।

तालिमका क्रममा वरिष्ठ अधिकृत थापाले सार्वजनिक निकायको खर्च व्यवस्थापनमा व्यवस्थित लेखा प्रणालीको अनिवार्यता औंल्याउँदै ऐन, नियम र कानुनी प्रक्रियाभित्र रहेर मात्र खर्च तथा भुक्तानी गर्नुपर्ने स्पष्ट पार्नुभयो । उहाँले सम्झौता रकम समयमै र सहज रूपमा प्राप्त गर्न तोकिएका प्रक्रिया र मापदण्डको पालना अनिवार्य रहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार तालिमको उद्देश्य महानगरपालिकाको लक्ष्य, उद्देश्य तथा वार्षिक नगर विकास कार्यक्रमलाई नियमितता, मितव्ययिता, कार्यदक्षता र प्रभावकारितासहित कार्यान्वयन गर्न सहयोग पुर्‍याउनु, विकास निर्माण र क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्दा बेरुजु नआउने अवस्था सिर्जना गर्नु तथा वित्तीय सुशासन कायम गर्नु रहेको छ ।

त्यसैगरी प्रशिक्षक कनिष्ट कुमार भट्टले लेखा कसरी व्यवस्थित रूपमा राख्ने, बिल तथा भरपाई सही तरिकाले व्यवस्थापन गर्ने र तस्बिर तथा प्रमाणहरूको महत्त्वबारे सहभागीहरूलाई जानकारी गराउनुभयो ।

कार्यक्रममा सहभागीहरूले केही नियम–कानुनबारे पर्याप्त जानकारी नहुँदा व्यवहारिक समस्या झेल्नुपरेको अनुभव साझा गरेका थिए । सहभागीहरूको जिज्ञासामा प्रशिक्षकहरूले जवाफ दिँदै समाधानका उपायबारे स्पष्ट जानकारी गराएका थिए ।

 

धेरै पढिएको