उडानका क्रममा इन्जिनमा समस्या देखिएको टर्किस एयरलाइन्सको विमान कोलकातामा सुरक्षित अवतरण 
News Desk
Feb-04 तारिख 07:36 बेलुका

काठमाडौं | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्कीको इस्तानबुलतर्फ उडेको टर्किस एयरलाइन्सको एउटा विमानमा उडानका क्रममा इन्जिनमा समस्या देखिएपछि उक्त जहाज भारतको कोलकातामा सुरक्षित रूपमा अवतरण गरिएको छ।

विमानस्थल स्रोतका अनुसार उक्त विमान बुधबार दिउँसो ३ बजेर ३ मिनेटमा कोलकातास्थित सुवासचन्द्र बोस अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण गरेको हो। टर्किस एयरलाइन्सको टीके–७२७/ए३३ उडान नम्बरको जहाज दिउँसो १ बजेर २९ मिनेटमा काठमाडौंबाट इस्तानबुलका लागि प्रस्थान गरेको थियो।

उडान सुरु भएको करिब दुई मिनेटमै जहाजको दाहिने इन्जिनमा आगो देखिएको जानकारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई प्राप्त भएको थियो। त्यसपछि सावधानीस्वरूप विमानलाई कोलकातातर्फ मोड्ने निर्णय गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिए।

उक्त विमानमा २२५ जना यात्रु र ११ जना चालक दलका सदस्य गरी कुल २३६ जना सवार थिए। सबै यात्रु र चालक दल सुरक्षित रहेको विमानस्थल प्रशासनले जनाएको छ।