News Desk
काठमाडौँ । न्याय परिषद्ले उपभोक्ता अदालत, काठमाडौँको अध्यक्ष पदमा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश डा. दीवाकर भट्टलाई नियुक्त गर्न परामर्श दिने निर्णय गरेको छ। परिषद्को आज बसेको बैठकले उक्त निर्णय गरेको हो।
न्याय परिषद्का प्रवक्ता रामप्रसाद भट्टराईका अनुसार बैठकले जिल्ला न्यायाधीश भट्टलाई उपभोक्ता अदालतको अध्यक्षमा तोक्न सिफारिस गर्ने निर्णय गरेको छ। साथै, विभिन्न जिल्लामा कार्यरत १० जना न्यायाधीशको सरुवा तथा २० जना जिल्ला न्यायाधीशको पदस्थापन गर्ने निर्णय पनि गरिएको छ।
यसैगरी, बिमा ऐन, २०७९ को दफा १४७ को उपदफा (१) अन्तर्गतका कसुरसम्बन्धी मुद्दाको कारबाही र अन्तिम टुंगो लगाउने प्रयोजनका लागि ७७ वटै जिल्ला अदालतलाई अधिकार प्रदान गर्न परामर्श दिने निर्णयसमेत परिषद्ले गरेको छ।