News Desk
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बीमाको स्रोतसम्बन्धी देखिएका समस्यालाई तत्काल समाधान गरिने स्पष्ट पार्नुभएको छ। बुधबार सम्बन्धित निकायसँगको छलफलका क्रममा प्रधानमन्त्री कार्कीले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो।
स्वास्थ्य बीमा कार्यक्रम विपन्न वर्ग लक्षित भएकाले यसलाई गम्भीर विषयका रूपमा लिएर अर्थमन्त्रीसँग समन्वय गरी समस्या समाधानमा कुनै ढिलाइ नगर्ने उहाँले बताउनुभयो। साथै, बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन कडा नियमन आवश्यक रहेको पनि उहाँको भनाइ छ।
गरिब, अपांग, अशक्तलगायत लक्षित वर्गको हितलाई केन्द्रमा राख्दै आगामी दिनमा सरकारले कार्यक्रमलाई अझ व्यवस्थित रूपमा अघि बढाउनुपर्ने प्रधानमन्त्री कार्कीले उल्लेख गर्नुभयो। आवश्यक परे सरकारले ऋण जुटाएर भए पनि स्वास्थ्य बीमाका लागि बजेटको व्यवस्था गरिने उहाँको आश्वासन छ।
जनताले नियमित रूपमा प्रिमियम तिरेर पनि सरकारले बजेटको व्यवस्था नगर्नु कुनै हालतमा स्वीकार्य नहुने प्रधानमन्त्री कार्कीको भनाइ थियो। साथै, स्वास्थ्य बीमा कार्यक्रमलाई एकद्वार प्रणालीमार्फत सञ्चालन गर्ने उद्देश्यले स्वास्थ्य मन्त्रालयले नीतिगत तथा कानुनी व्यवस्था तयार गरिरहेको जानकारी पनि उहाँले दिनुभयो।