कामपाको एकीकृत हाजिरी प्रणाली लागू, सामुदायिक विद्यालय डिजिटल प्रणालीमा आबद्ध
News Desk
Feb-05 तारिख 06:49 बिहान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थीको दैनिक उपस्थितिलाई व्यवस्थापन गर्न आफ्नै एकीकृत हाजिरी प्रणाली विकास गरेको छ। शिक्षा विभाग र सूचना प्रविधि विभागको सहकार्यमा तयार गरिएको उक्त प्रणालीमार्फत सामुदायिक विद्यालयलाई एउटै डिजिटल प्लेटफर्ममा जोडिएको हो।

महानगरपालिकाले सबै विद्यालयलाई आवश्यक ‘युजर नेम’ र ‘पासवर्ड’ उपलब्ध गराइसकेको छ। यसै क्रममा जनकल्याण मावि, टङ्गाल मावि, गीतामाता मावि, ज्ञानोदय मावि, तरुण मावि, रत्नराज्य मावि, पद्मोदय मावि, जनपथ मावि र विश्व निकेतन माविका शिक्षक तथा कर्मचारीको विवरण प्रविष्टि र फेस रिडिङ प्रक्रिया पूरा भइसकेको छ।

शिक्षा विभागका निमित्त प्रमुख केशवप्रसाद ज्ञवालीका अनुसार हाल विद्यार्थीहरूको विवरण संकलन तथा फेस रिडिङको प्रक्रिया निरन्तर रूपमा अघि बढिरहेको छ। प्रणाली विकासको सम्पूर्ण काम महानगरपालिकाकै आन्तरिक जनशक्तिबाट सम्पन्न गरिएको जनाइएको छ, जसले बाह्य परामर्शदातामाथिको निर्भरता घटाएको छ।

प्रणाली लागू भएपछि विद्यालयका लेखा तथा प्रशासनिक कर्मचारीलाई हाजिरी प्रणाली सञ्चालनसम्बन्धी तालिम दिइएको छ। अब डाटा इन्ट्री, अद्यावधिक तथा प्रतिवेदन तयार गर्ने काम विद्यालयस्तरमै हुनेछ भने रियल टाइम सूचना महानगरको केन्द्रीय प्रणालीबाट निगरानी गर्न सकिनेछ।

सूचना प्रविधि विभागका प्रमुख अनिरुद्र नेपालले महानगरको आफ्नै प्रणाली विकास हुनु महत्वपूर्ण उपलब्धि भएको बताउँदै अब सेवाका लागि बाह्य परामर्शदातामा निर्भर हुन नपर्ने उल्लेख गर्नुभयो। आगामी दिनमा प्रणालीमा प्रविष्ट तथ्याङ्कलाई सब–नेशनल ट्रेजरी रेगुलाटोरी एप्लिकेसन (सूत्र) सँग आबद्ध गर्ने योजना रहेको सूचना प्रविधि अधिकृत इञ्जिनियर माधव खनालले जानकारी दिनुभयो।

यस प्रणालीलाई व्यक्तिगत प्रोफाइलका रूपमा पनि विकास गरिएको छ, जहाँ विद्यार्थीले आफ्ना विवरण आफैँ हेर्न सक्नेछन्। भविष्यमा विद्यार्थी अनुपस्थित भएको जानकारी अभिभावकलाई सिधै पठाउने व्यवस्था समेत मिलाइने महानगरपालिकाले जनाएको छ।