News Desk
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले हालको संरचनामा स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिन कठिन रहेको बताउनुभएको छ। बुधबार आयोजित स्वास्थ्य बीमासम्बन्धी छलफल कार्यक्रममा मन्तव्य राख्दै मन्त्री गौतमले कार्यक्रम सुधारका प्रयासमा सरोकारवाला मन्त्रालयहरूको अपेक्षित सहयोग नपाएको गुनासो गर्नुभयो।
संविधानले आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क सुनिश्चित गर्ने व्यवस्था गरेअनुसार सरकारले ९८ प्रकारका औषधि निःशुल्क वितरण गरिरहेको भए पनि विद्यमान स्वास्थ्य बीमा प्रणालीले त्यसमा अवरोध सिर्जना गरेको उहाँको भनाइ थियो। यस अवस्थालाई हटाउन कानुनी सुधारका लागि अध्यादेश ल्याउने तयारी गरिँदा पनि सम्बन्धित मन्त्रालयहरूको साथ नपाएको मन्त्री गौतमले उल्लेख गर्नुभयो।
स्वास्थ्य मन्त्रालयले बिदाका दिनसमेत निरन्तर छलफल गरी ऐन संशोधनको मस्यौदा तयार गरेर अध्यादेशका रूपमा अघि बढाउन आग्रह गर्दा पनि आफ्नै मन्त्रालयबाट सुधारका प्रयास रोकिएको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो। पछि स्वास्थ्य मन्त्रालयले नीति नल्याएको आरोप लगाइने अवस्था आएको मन्त्री गौतमको भनाइ थियो।
कार्यक्रममा उहाँले स्वास्थ्य मन्त्रालयले पाउनुपर्ने बजेटसमेत अर्थ मन्त्रालयबाट नपाएको यथार्थ स्मरण गराउँदै स्वास्थ्य क्षेत्रका नीति र कार्यक्रम प्रभावकारी बनाउन पर्याप्त स्रोत सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।