विश्व क्यान्सर दिवसको अवसरमा नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरद्वारा जनचेतनामूलक कार्यक्रम आयोजना
News Desk
Feb-05 तारिख 07:27 बिहान

काठमाडौँ । फेब्रुअरी ४ अर्थात् विश्व क्यान्सर दिवसको अवसरमा नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरले जनचेतनामूलक तथा स्मरणात्मक कार्यक्रम आयोजना गरेको छ। क्यान्सर रोगविरुद्ध सचेतना फैलाउने, दिवंगतको सम्झना गर्ने, रोग जितेकालाई सम्मान र उपचाररत बिरामीलाई हौसला प्रदान गर्ने उद्देश्यसहित अस्पतालले दीप प्रज्वलनलगायत विभिन्न औपचारिक कार्यक्रम गरेको हो।

कार्यक्रममा क्यान्सर रोग विशेषज्ञ तथा अस्पतालका अध्यक्ष डा. सुदीप श्रेष्ठले क्यान्सरलाई एक दिन मात्र सम्झिने विषय नभई हरेक दिन सचेत रहनुपर्ने रोगका रूपमा लिनुपर्ने बताए। क्यान्सर जोसुकैलाई जुनसुकै समयमा पनि हुन सक्ने भएकाले यसविरुद्ध सबै एक भएर लड्नुपर्नेमा उनले जोड दिए।

नेपालमै क्यान्सरको उपचार सम्भव छैन भन्ने धारणा व्याप्त रहेको समयमा डा. श्रेष्ठले सन् २०१५ मा ललितपुरको हरिसिद्धिमा नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर स्थापना गरेका थिए। अस्पताल स्थापना पछि नेपालमै विश्वस्तरीय क्यान्सर उपचार सम्भव छ भन्ने विश्वास हजारौँ बिरामीको सफल उपचारमार्फत स्थापित हुँदै गएको छ।

कार्यक्रममा अस्पतालका मेडिकल निर्देशक डा. विजेशराज घिमिरेले हाल विश्वभर वर्षेनी करिब दुई करोड मानिसलाई क्यान्सर लाग्ने र झण्डै एक करोडको मृत्यु हुने तथ्य प्रस्तुत गरे। सन् २०३५ सम्म वार्षिक तीन करोड र २०५० सम्म पाँच करोडसम्म क्यान्सरका बिरामी हुन सक्ने अनुमान रहेको उल्लेख गर्दै उनले क्यान्सर अब दीर्घ रोगजस्तै बन्दै गएको बताए। डराएर होइन, लडेर बाँच्ने सोच आवश्यक रहेको उनको भनाइ थियो।

डा. घिमिरेले क्यान्सर उपचारका लागि विशेषज्ञ जनशक्ति, उपचार पद्धति र प्रविधि क्रमशः आधुनिक बन्दै गएको पनि जानकारी गराए। अस्पतालका चिकित्सक डा. गुसुपनिख प्रसिकोले एउटै प्रकारको क्यान्सर पनि व्यक्तिअनुसार पीडा, अवस्था र स्वरुप फरक हुने बताए। भौगोलिक अवस्था, वातावरण र जीवनशैलीका कारण रोगको स्वरुप बदलिने भए पनि समयमै उपचार गरे क्यान्सर अब डरलाग्दो रोग नरहेको उनको भनाइ थियो।

कार्यक्रममा क्यान्सर जितेका व्यक्तिहरूले आफ्ना अनुभव सुनाउँदै रोग लागेको थाहा पाउँदा जीवनप्रति निराश भए पनि नेपालमै गुणस्तरीय उपचार पाएपछि पुनः स्वस्थ जीवन बाँच्न सफल भएको बताए।

डा. कपेन्द्रशेखर अमात्य, डा. हरिप्रसाद ढकाल, अस्पतालकी निर्देशक डा. स्वरुपा श्रेष्ठलगायतको उपस्थितिमा दीप प्रज्वलन गरिएको कार्यक्रम अस्पताल परिसरमा फोटो बुथ, ऐक्यबद्धताको हस्ताक्षर अभियान, स्वास्थ्य परीक्षण तथा बेलुन उडाएर सम्पन्न गरिएको थियो।