News Desk
काठमाडौँ । नेपाल पेडियाट्रिक सोसाइटी (NEPAS) ले आगामी संसदीय निर्वाचनका लागि राजनीतिक दलहरूलाई आफ्ना घोषणापत्रमा बाल स्वास्थ्य र बाल अधिकारलाई प्राथमिकता दिन आह्वान गरेको छ। NEPAS का अनुसार बालबालिकाको स्वास्थ्य, पोषण, शिक्षा, मानसिक स्वास्थ्य र समग्र विकासमा लगानी नगरी नेपालका दीर्घकालीन सामाजिक, आर्थिक र मानवीय लक्ष्य हासिल गर्न सम्भव छैन।
NEPAS का अध्यक्ष डा. अरुण कुमार न्यौपानेले बालबालिकाको स्वास्थ्य र अधिकार सुनिश्चित गर्नु राष्ट्र निर्माणको आधारभूत आवश्यकता भएको उल्लेख गर्दै सबै दललाई मापनयोग्य र कार्यान्वयनयोग्य प्रतिबद्धता घोषणापत्रमा समावेश गर्न आग्रह गर्नुभयो। सो संस्थाले संविधान २०७२ र संयुक्त राष्ट्रसंघको बाल अधिकारसम्बन्धी महासन्धि (CRC) अन्तर्गत बालबालिकाको स्वास्थ्य, पोषण, शिक्षा, सुरक्षा तथा विकासलाई मौलिक अधिकारका रूपमा सुनिश्चित गरिएको स्मरण गराएको छ।
संस्थाले बाल स्वास्थ्य र अधिकारमा राजनीतिक दलहरूले ध्यान दिनुपर्ने प्रमुख बुँदाहरू पनि सार्वजनिक गरेको छ। यसमा बाल स्वास्थ्यलाई राष्ट्रिय प्राथमिकता बनाउनु, मातृ, नवजात शिशु तथा किशोर स्वास्थ्यमा पर्याप्त सार्वजनिक लगानी सुनिश्चित गर्नु, कुपोषण अन्त्यका लागि पोषण, शिक्षा, सरसफाइ र सामाजिक सुरक्षासहित बहु-क्षेत्रीय दृष्टिकोण अपनाउनु, गुणस्तरीय स्वास्थ्य सेवामा समान पहुँच, विशेषगरी दुर्गम र सीमांतकृत समुदायमा लक्षित कार्यक्रम सञ्चालन गर्नु, बाल हिंसा, बालविवाह र बालश्रम अन्त्य गर्न कानुनी तथा संस्थागत संयन्त्र सुदृढ गर्नु र संघीय संरचनामा बालमैत्री शासन लागू गर्नु समावेश छन्।
NEPAS का प्रवक्ता डा. रामहरि चापागाईंले भने, “नेपालको भविष्य आजका बालबालिकामा निर्भर छ। बालमैत्री नीति, कार्यक्रम र लगानीमार्फत मात्र स्वस्थ, सक्षम र उत्पादनशील पुस्ता निर्माण सम्भव हुन्छ। हामी यस अभियानमा नीतिगत संवाद, प्राविधिक सहयोग र सहकार्यमा सधैं तत्पर छौँ।”
सङ्गठनले सम्पर्कका लागि डा. हरिकृष्ण बाँस्कोटा, मोबाइल: +९७७९८६-९२०७२२५ र ईमेल [email protected] उपलब्ध रहेको जानकारी दिएको छ।