News Desk
ललितपुर । ललितपुर महानगरपालिकाको लेखा समितिको आयोजनामा लेखा तथा बेरुजु व्यवस्थापनसम्बन्धी छलफल, अन्तर्क्रिया र तालिम कार्यक्रम सम्पन्न भएको छ। माघ २१ गते वडा नं २२ अन्तर्गतका उपभोक्ता समिति, टोल विकास संस्था र महिला समूहका पदाधिकारीलाई लक्षित गरी बुङ्गमतीमा आयोजित कार्यक्रममा करिब ७५ जनाको सहभागिता रहेको थियो।
कार्यक्रम लेखा समितिकी संयोजक सरिता महर्जनको अध्यक्षतामा सञ्चालन भएको थियो। कार्यक्रममा वडा नं २२ का वडा अध्यक्ष सागर तुलाधर प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। संयोजक महर्जनले लेखा प्रक्रियासम्बन्धी पर्याप्त जानकारीको अभावले विगतमा विभिन्न व्यवहारिक समस्या उत्पन्न भएको बताए र ती समस्या समाधानका लागि लक्षित समूहलाई तालिममार्फत प्रशिक्षण दिने उद्देश्य रहेको जानकारी गराउनुभयो।
प्रमुख अतिथि वडा अध्यक्ष तुलाधरले तालिमबाट प्राप्त ज्ञानले लेखा तथा बेरुजुसम्बन्धी जटिलता समाधान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले सहभागीहरूलाई तालिमलाई अवसरका रूपमा सदुपयोग गर्न सुझाव दिनुभयो र यस्ता कार्यक्रम विगतमा प्रभावकारी सावित भएकाले भविष्यमा निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा वडा सदस्य सुकमाया लामाले यस्ता तालिमहरूले स्थानीय स्तरमा क्षमता अभिवृद्धि गर्ने काममा टेवा पुग्ने धारणा व्यक्त गर्नुभयो। कार्यक्रममा महानगरपालिकाका लेखा समिति सदस्य अनुप घिमिरे, वडा सदस्यहरू र अन्य सरोकारवालाको पनि उपस्थिति रहेको थियो।
तालिम सत्रमा महानगर आन्तरिक लेखा परीक्षण एकाइ प्रमुख वरिष्ठ अधिकृत प्रेमबहादुर थापा र योजना कार्यान्वयन शाखा प्रमुख राजेन्द्र प्रसाद अधिकारीले सहभागीहरूलाई तालिम प्रदान गर्नुभएको थियो। वरिष्ठ अधिकृत थापाले सार्वजनिक निकायको खर्च व्यवस्थापनमा व्यवस्थित लेखा प्रणाली अनिवार्य भएको र ऐन, नियम तथा कानुनी प्रक्रियाको पालना गर्नुपर्ने स्पष्ट पार्नुभयो। उहाँले सम्झौता रकम समयमै र सहज रूपमा प्राप्त गर्न तोकिएका मापदण्डको पालना अनिवार्य रहेको पनि जानकारी दिनुभयो।

तालिमको उद्देश्य महानगरपालिकाका लक्ष्य, उद्देश्य र वार्षिक नगर विकास कार्यक्रमलाई नियमितता, मितव्ययिता, कार्यदक्षता र प्रभावकारितासहित कार्यान्वयन गर्न सहयोग पुर्याउनु, विकास निर्माण र क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्दा बेरुजु नआउने अवस्था सिर्जना गर्नु तथा वित्तीय सुशासन कायम गर्नु रहेको थियो। योजना कार्यान्वयन शाखा प्रमुख राजेन्द्र अधिकारीले योजना निर्माणदेखि लेखा व्यवस्थापन, बिल र भरपाईको सही व्यवस्थापन तथा तस्बिर र प्रमाणको महत्त्वबारे सहभागीहरूलाई जानकारी गराउनुभयो।
कार्यक्रममा सहभागीहरूले नियम–कानुन सम्बन्धी पर्याप्त जानकारी नहुँदा व्यवहारिक समस्या झेल्नुपरेको अनुभव साझा गरेका थिए। प्रशिक्षकहरूले सहभागीहरूको जिज्ञासामा जवाफ दिँदै समाधानका उपाय र प्रक्रिया स्पष्ट रूपमा जानकारी गराएका थिए।




