बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा परी ज्यान गुमाएका आठै जनाको सनाखत
News Desk
Feb-06 तारिख 05:46 बिहान • आज

बैतडी : बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा परी ज्यान गुमाएका आठै जनाको सनाखत भएको छ। दुर्घटना पुर्चौडी नगरपालिका–७ बडगाउँ मोडमा बिहीबार राति करिब ८ बजे भएको हो।

पुर्चौडी नगरपालिका–७ भवनेबाट बझाङतर्फ बिहे सकेर फर्किँदै गरेको पवनदूत यातायातको सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा एक महिला र सात पुरुषको मृत्यु भएको छ। बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडूका अनुसार सबै मृतकको पहिचान भइसकेको छ।

मृत्यु हुनेमा बझाङ बित्थडचिर गाउँपालिका–७ का ४० वर्षीय केशवराज जोशी, १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय वसन्त जोशी र ४१ वर्षीय विसनदत्त जोशी रहेका छन्। यस्तै बझाङ केदारस्यू गाउँपालिकाका ६० वर्षीय मोहनदेव भट्ट, जयपृथ्वी नगरपालिका बझाङका ४० वर्षीय वसन्तराज रतला तथा बैतडी पुर्चौडी नगरपालिका–७ की पुष्पा अवस्थीको पनि मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएका ४५ जनाको उद्धार गरी स्थानीय स्वास्थ्यचौकी पठाइएको प्रहरीले जनाएको छ। घाइतेमध्ये २७ पुरुष र १८ महिला रहेका छन्।

नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय बासिन्दाको सहयोगमा घाइतेहरूको उद्धार गरिएको हो। दुर्घटनाग्रस्त बस सडकबाट करिब २०० मिटर तल खसेको बताइएको छ।

धेरै पढिएको